विद्रोही सम्झेर सुरक्षाकर्मीले मजदुर बोकेको गाडीमा गोली बर्सायो, १३ जनाको मृत्यु
एजेन्सीः नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ। उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ। उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानबिनको आदेश दिएको छ। त्यहाँको राज्य सरकारले घटनालगत्तै अनुसन्धानका लागि उच्चस्तरीय टोलि पठाइसकेको बताएको छ।
मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए। तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए। गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए। गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेका थिए। भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए। उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए। रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए। घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए।
सो घटना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मिडियामा उल्लेख छ। सुरक्षाकर्मीको गोली लागेर अन्य दुई नागरिक घाइते भएको बताइएको छ। नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। रिपोर्टकाअनुसार आतंकवादी अपरेसनअन्र्तगत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए। सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन्।