सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकेन्द्र–मोहन युवा वर्ष सम्मानद्वारा युवा गायक चन्द सम्मानित

२०८१ पुष २९, ०३:५४ खबर संवाददाता

धनगढीः स्वर्गीय  लोकेन्द्रबहादुर शाह र स्वर्गीय मोहनबहादुर शाहको स्मृतिमा स्थापना भएको लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२४ द्वारा धनगढीका प्रेम विवश चन्द सम्मानित भएका छन्।

धनगढी जेसिजको ४२ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा गायक एवं सञ्चारकर्मी चन्दलाई डेउडा र लोकदोहोरी गीत गायनसँगै संरक्षण, सम्बद्र्धनमा टेवा पुगाएको  भन्दै सम्मान गरिएको हो। धनगढी जेसिज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहको अध्यक्षतामा बसेको धनगढी जेसिजको ४२ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशबहादुर देउवा थिए।

२०५२ सालमा आफ्ना हजुर बुवा र बुवाको सम्झनामा स्थापना भएको लोकेन्द्र–मोहन स्मृति प्रतिष्ठानबाट बिगत १२ वर्षदेखि हरेक वर्ष एक जना युवा प्रतिभालाई सम्मान गर्ने गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री  समेत रहनुभएका लोकेन्द्र–मोहन स्मृती प्रतिष्ठानका अध्यक्ष नरनारायण शाह (मनु)ले बताए। लोकेन्द्र–मोहन स्मृति प्रतिष्ठानद्वारा समाजमा रचनात्मक सामाजिक क्रियाकलाप गर्न उत्साहित गर्न एक जना युवालाई हरेक वर्ष सम्मान गर्ने गरिएको छ।

लोकेन्द्र–मोहन युवा सम्मान धनगढी जेसिजको पदस्थापनको दिन प्रदान गरिँदै आएको छ। बैतडीको शिवनाथ गाउँपालिका–४ बैतडीमा बुवा बली चन्द र आमा जनमती चन्दको साहिला सन्तानको रूपमा २०५५ वैशाख २४ गते जन्मिएका गायक एवं सञ्चारकर्मी चन्द डेउडा प्रतिष्ठानको केन्द्रीय कार्यसमिति कोषाध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति प्रवक्ता, हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल ,लाइन्स क्लब लगायतका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन्।

कमेन्ट लोड गर्नुस