मोदीको पर्सी केदारनाथ जाने कार्यक्रमको विरोध, पुरोहितहरु नै विरोधमा उत्रिए
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पर्सी केदारनाथ जाने कार्यक्रमको विरोध सुरु भएको छ। प्रधानमन्त्रीको यात्रालाई लिएर मन्दिरका पुरोहितहरुले विरोध गरिरहेका छन्। त्यसपछि बुधबार उत्तराखण्डका मुख्य मन्त्री पुष्कर सिंह धामी पुरोहितहरुलाई मनाउन केदारनाथ धाम पुगेका छन्। भारतीय मिडियाका अनुसार धामीले लामो समयसम्म बन्द कोठाभित्र पुरोहितहरुसँग कुरा गरेका छन्।
२ दिन पहिले उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र मन्त्री धन सिंह रावतसहित बीजेपीका प्रदेश अध्यक्षको केदारनाथमा ठूलो विरोध भएको थियो। पूर्व मुख्यमन्त्री रावतलाई पुरोहितहरुले दर्शन गर्न समेत दिएका थिएनन्। त्यसपछि पुरोहितहरुले प्रधानमन्त्री मोदीको भ्रमणको पनि विरोध गर्ने फैसला गरेका थिए। त्यतिबेलादेखि नै उत्तराखण्ड सरकार आत्तिएको छ। पुरोहित र पंडा समाजको विरोधका कारण आज मुख्यमन्त्री केदारनाथ गएर पुरोहित समाजसँग कुरा गरेका हुन्।
खासमा २०२० को जनवरीमा त्रिवेन्द्र सिंह रावतको सरकारले चारधाम देवस्थानम बोर्ड गठन गरेको थियो। यससँगै चारधाम सहित ५१ अन्य मन्दिरको नियन्त्रण राज्य सरकारकहाँ आएको थियो। उत्तराखण्डमा केदारनाथ, गंगोत्री, यमुनोत्री र बद्रीनाथ चार धाम छन्। त्यतिबेलादेखि नै पुरोहित र पंडा समाजले यो फैसला फिर्ता लिन माग गरिरहेका छन्। धामीले मुख्यमन्त्री बन्नासाथ एक कमिटीको गठन गरेर रिपोर्टका आधारमा फैसला गर्ने प्रतिबद्धता जनाएका थिए। तर, निर्धारित मिति ३० अक्टोबरसम्म पनि कुनै फैसला नभएपछि फेरि देवस्थानम बोर्डको मुद्दा चर्कियो। पुरोहितहरुले आन्दोलन सुरु गरे। पुरोहितहरुले यही आन्दोलनको क्रममा प्रधानमन्त्रीको भ्रमणको समेत विरोध गर्ने फैसला गरेपछि उत्तराखण्ड सरकार तर्सिएको छ।