अछाममा कुँवर र खड्काबाहेक अरूलाई भोट नदिन कसले गर्यो देउडामार्फत अपिल ?
धनगढी: अछाममा कुँवर र खड्काबाहेक अरुलाई भोट नदिन भनेर देउडामार्फत सार्वजनिक अपिल गरिएको छ। मंसिर ४ मा हुने चुनावमा जिल्लामा कुँवर र खड्काबाहेक अन्य जातिका उम्मेदवारलाई भोट नदिन भनेर चौरपाटी खुलाल खप्तडी समाजका नाममा देउडामार्फत अपिल गरिएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिरिएको यो गोप्य अपिलको बारेमा कसैलाई जानकारी नदिनू भन्ने व्यहोरा उल्लेख गरिएको छ। देउडा लयमा लेखिएको अपिलमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर कुँवर र प्रदेश सभा सदस्यका उम्मेदवार मेघराज खड्कालाई मात्रै भोट दिनुपर्ने आवश्यकता औंल्याउदै अन्य उम्मेदवारहरूलाई गाली गलौज गरिएको छ।
खुलाल खप्तडी समाजका नाममा गरिएको अपिलको अछाम जिल्लाका मतदाताले भने विरोध गरेका छन्। आफ्नो फेसबुमा केसर ठकुल्ला नाम गरेका व्यक्तिले लेखेका छन्, 'चौरपाटी गाउँपालिकामा कुन विद्वानको उत्पत्ति भएछ। यस्तो अन्य जातिलाई होच्याएर देउडा लेख्ने, पाखण्डी सोच र आफ्नो पहुँच र पावरको दम्भ देखाउनेलाई यो चुनावमा ठेगान लगाएर स्वतन्त्रमय अछाम बनाउन जरुरी छ।'
यस्तै, अछामका नविन साउँदले पनि 'जातिवादले समाजमा हत्या हिंसा हुने गर्दछ। यो कदापि राम्रो होइन, यस्ता घटिया मानसिकता र सोच भएकाहरूलाई समयमै चिनौं भनेर लेखेका छन्।' खुलाल खप्तडी समाजको नाममा सार्वजनिक भएको अपिल गलत भएको भन्दै अछाममा तीव्र आलोचना भएको छ। अपिलमा जातिय घृणा फैलाउने काम भएको भन्दै सामाजिक सञ्जालमार्फत सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्ने धेरैको मत देखिएको छ।