सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी भीम रावलको अभियानमा
धनगढीः नेकपा एमाले कैलालीले कारबाहीका लागि सिफारिस गरेका पूर्वमन्त्री कृष्णराज सुवेदीले भीम रावलको अभियानलाई सघाउने भएका छन्। सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका हुन्।
भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको भन्दै उनको गुनासो छ। उनले भने, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन। तर, भीम रावल मेरा आदरणीय नेता हुन्। उनी आउँदा म भेट्न गएको थिएँ। भीम रावललाई नभेट्नु भनेर पार्टीले सर्कुलर पनि गरेको छैन। एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्छ भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानासाही प्रवृत्ति हो।’ पूर्व सामाजिक विकास मन्त्री सुवेदीले एमाले कैलालीको कारबाहीको सिफारिस तानासाही प्रवृत्तिको भएको आरोप लगाएका हुन।
नेकपा एमाले जिल्लाको सिफारिसको विरोध गर्ने उनले बताएका छन। सुवेदीले भने, ‘म त्यसको घोर भर्त्सना गर्दछु। म भेट्न गएको हो। कुनै पार्टीमा गएको होइन। म त अहिलेसम्म एमालेमै छु। निकालिएको बारे कसैले जानकारी पनि दिएको छैन।’ एमाले जिल्ला सचिवालय बैठकले बुवा–छोरालाई पार्टीबाट निष्कासनको लागि सिफारिस गरेको हो। एमालेबाट पार्टी कारबाहीमा परेका भीम रावलको स्वागतमा पूर्व मन्त्री सुवेदी धनगढी विमानस्थल पुगेका थिए। रावलले कुनै अपराध नगरेकोसमेत उनले बताए। ‘भीम रावलले के अपराध गरेको छ ? देशद्रोही, राजद्रोही होइन। के गरेका छन् र उनले ? उनलाई भेट्नै नहुने ? उहाँ एउटा राष्ट्रवादी, असल, स्वच्छ छविको नेता हो। उहाँ सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता हो। उनीहरू नै पार्टी चलाउन्,’ सुवेदीले भने। सुवेदीले रावललाई सम्मान गर्दै उनकै मातृभूमि जागरण अभियानलाई सघाउने बताएका हुन्।
उनले भने, कारबाही गरिएकै हो भने भीम रावललाई समर्थन हो। उहाँको अभियानलाई समर्थन नै हो। उहाँकै पक्षमा उभिन्छु’। पार्टी भित्रको गलत प्रवृत्तिको विरुद्धमा आवाज उठाउदै आएको उनले बताएका छन्। उनले भने, ‘भेट्दैमा कारबाही गरिन्छ भने, कारबाही भोग्न पनि तयार छु। के कारबाही गर्छन् र उनीहरूले ? मेरो के पद जाने हो र ? मेरो ३० वर्षको सङ्गठित सदस्यता खोसेर खान्छन् भने मेरो केही आपत्ति छैन।’ पार्टीको जिल्ला सचिवालय बैठकबाट पूर्वमन्त्री सुवेदी र उनका छोरा तथा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको छ।