कैलालीको चिसापानी–राजकाँडा केवलकार सञ्चालन गर्न १५ सय रुख काट्नुपर्ने
ईआइएको फाइल मन्त्रालय पुग्यो
धनगढीः कैलालीको चिसापानी–राजकाँडा केवलकार सञ्चालनका लागि एक हजार पाँच सय बढी रुख काट्नुपर्ने देखिएको छ। जिल्लाको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केवलकार निर्माणको स्वीकृतीका लागि वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) को फाइल मन्त्रालय पुगेको हो।
प्राकृतिक रुपमा निकै सुन्दर राजकाँडा सूर्याेदय अवलोकनका लागि प्रसिद्ध रहेको भन्दै जाल्पादेवी केवलकार कम्पनीले सम्भाव्यता अध्ययन गरेको थियो। सो ठाउँमा सडक यातायात नपुगेको अवस्था छ। यस्तै पैदलमार्ग निकै अप्ठ्यारो भएका कारण राजकाँडा भ्रमण गर्न आउने पर्यटकको संख्या वृद्धि गर्न भन्दै कम्पनीले तीन किलोमिटरमा केवलकार सञ्चालनको अनुमति माग गरेको छ। तर, जाल्पादेवी केवलकार कम्पनीले केवलकार सञ्चालनको अनुमति भने पाएको छैन्।
राजकाँडामा पर्यटन विकासका लागि जाल्पादेवी केवलकार कम्पनीले केवलकार सञ्चालन गर्न अध्ययन गरेकोमा एक हजार पाँच सय रुख काट्नुपर्ने देखिएको हो। जाल्पा केवलकार कम्पनीले ठूलो रकम लगानी गरेर राजकाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित विस्तृत वातावरणीय प्रभाव मुल्यांकन तथा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पारेको हो। जाल्पा केवलकार कम्पनीका सञ्चालकसमेत रहेका पूर्व जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले विस्तृत आयोजना प्रतिवेदन र विस्तृत वातावरणीय प्रभाव मुल्यांकनको स्वकृतीका लागि संघीय मन्त्रिपरिषद्मा फाइल पठाउने तयारीमा रहेको बताए।
वातावरणीय प्रभाव मुल्यांकन अध्ययनसंगै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर संघीय मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइएको हो। चिसापानी–राजकाँडा केवलकार तीन दशमलव दुई किलोमिटर लामो हुने थापाले बताए। चिसापानी–राजकाँडा केवलकार निर्माणसंगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिने योजना छ। चार अरबको लगानीमा स्थानीयको ४० प्रतिशत र ६० प्रतिशत चन्द्रागिरी केवलकार कम्पनीले लगानी गर्ने सम्झौता गरिएको थापाले बताएका छन्।
जालपादेवी केवलकार कम्पनीले चिसापानीदेखि राजकाँडासम्म केलवकार सञ्चालन गर्न स्टेशन बनाउन र राजकाँडामा रिसोर्ट र होमस्टे सञ्चालन गर्न दुई सय ५० रोपनी जग्गा खरिद गरिसकेको छ। कम्पनीले पर्यटकीय क्षेत्र चिसापानी हुदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि कागजी प्रक्रिया अगाडि बढाएको हो। तर, केवलकार सञ्चालनका लागि स्वीकृती पाउन भने बाँकी छ। चिसापानी बजारको पश्चिम क्षेत्रको १३ बिघा सरकारी जमिन प्रयोगको अनुमति कम्पनीसँग छैन्। जाल्पा केवलकार कम्पनीका सञ्चालक थापाले अनुमति पाएपछि भौतिक संरचनाहरु निर्माणको काम सुरु हुने उनले बताए। कैलालीको चिसापानी र राजकाँडा क्षेत्रको पर्यटन विकासका लागि ठूलो योजना रहेको उनको दाबी छ। कणार्लीमा पानी जहाजसमेत सञ्चालनमा आए सुदूरपश्चिमको पर्यटन विकासमा नयाँ क्रान्ती हुने उनको भनाइ छ।
चिसापानीबाट केवलकारमा राजकाँडा पुग्न करिब २० मिनेट मात्रै लाग्ने छ। केवलकारमा भ्रमण गर्ने पर्यटकले सो २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने दाबी कम्पनीको छ। पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्ट, जाल्पा देवीको ठूलो मुर्ती, दरवार, गुफा व्यवस्थीत गर्ने योजना बनाइएको छ। मोहन्याल गाउँपालिका वडानम्बर ७, राजकाँडा चिसापानीबाट ६ किलोमिटर ठाडो उकालोपछि आउँछ।