सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सृजना उत्सवः सर्जकलाई सृजनामा बाँच्नसक्ने बनाउने लक्ष्य

२०७९ भदौ १२, १०:२८ रोशन भट्ट

धनगढीः कैलालीको धनगढीमा सृजनशिल मञ्च सुदूरपश्चिमले २०७३ मा नयाँ सुरुवात गर्‍यो। त्यो थियो टिकट तिरेर रचना सुन्ने। प्रदेशमा तमाम साहित्य रचना गर्ने सर्जक भएपनि उनीहरुले प्रभावकारी मञ्च नपाएको अवस्थामा ‘धनगढी सृजना उत्सव’को सुरुवात गरिएको थियो। 

प्रत्येक दुई महिनामा एक श्रृंखला सञ्चालन गर्नेगरी सुरुवात भएको उत्सवले निरन्तरता भने पाउन सकेन। विगत तीन वर्ष कोरोना महामारीका कारण धनगढी सृजना उत्सवले निरन्तरता पाउन सकेको थिएन। ८ श्रृंखला नियमित सञ्चालन भएपछि उत्सव रोकिएको थियो। 

तर आयोजकले यसलाई फेरि निरन्तरता दिने संकेत देखाएको छ। शनिबार धनगढीमा सृजना उत्सवको नवौं श्रृंखला सम्पन्न भएको आयोजक सृजनशिल मञ्च सुदूरपश्चिमका अध्यक्ष जनक रसिकले बताए। ‘हामी यो उत्सव २०७३ सालदेखि सुरु गरेका हांै। बीचमा तीन वर्ष कोरोना महामारीका कारण निरन्तरता दिन सकिएन। अब फेरि धनगढी सृजना उत्सव नियमित सञ्चालन गर्छौं,’ उनले भने।

यस अगाडिका सबै श्रृंखलामा रचना सुन्ने दर्शकहरुले टिकट काटेका थिए। तर, कोरोना महामारीपछि रोकिएको सृजना उत्सव पुनः सुरु भएको पहिलो अर्थात नवौं श्रृंखलामा भने शुल्क तोकिएको छैन। रचना सुन्नका लागि दर्शकहरु कार्यक्रम आयोजना भएको जनपुस्तकालयसम्म पुगेका थिए। शनिबार सम्पन्न भएको उत्सवमा पाँच जना सर्जकले आफ्ना सृजना सुनाएका छन्। सर्जक आशा साँकी बलायर, खेम बतास, गुँरास ठकुरी, सिद्ध समर्पण र समिर ओझाले आफ्ना सृजना सुनाएका हुन्। 

सुदूरपश्चिममा देशकै मुलधारको साहित्यलाई चुनौती दिनसक्ने सर्जकहरु छन्। तर, प्रभावशाली मञ्च अभावकै कारण उनीहरु ओझेलमा परिरहेका छन्। पेशागत सुरक्षाको पनि ग्यारेन्टी हुन सकेको छैन। 

साहित्यकारलाई व्यवसायिक बनाउनका लागि सुरुवात गरिएको धनगढी सृजना उत्सव अझै प्रभावकारी बनाउन आवश्यक छ। सर्जकलाई सृजनामा बाँच्नसक्ने बनाउनका लागि यस क्षेत्रसँगका जोडिएका संस्थाहरु सक्रिय हुनुपर्ने देखिन्छ। ती संस्थाहरुलाई सरकारी निकायबाट समेत उपेक्षामा राखिएको छ। 

सुदूरपश्चिमको कला, साहित्य, संस्कृित र भाषालाई बचाउनका लागि पनि यो आवश्यक छ। यति मात्रै होइन, यस क्षेत्रको पर्यटन, धार्मिक पर्यटन लगायतका धरोहर तथा बेथितिमाथि पनि सहत्य रचना हुने गरेका अध्यक्ष रसिकले बताए। ‘सर्जकलाई सृजनामा बाँच्नसक्ने बनाउने हाम्रो लक्ष्य हो। यस्तै प्रयासले त्यो सम्भव छ,’ उनले भने।

सुदूरपश्चिमको साहित्य र सर्जकलाई देशको मुलधारमा ल्याउनका लागि हुने गरेका प्रयासहरु निरन्तरत चल्न जरुरी छ। यसमा तीनै तहका सरकारले समेत ध्यान दिनुपर्ने भनाई सर्जकहरुको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस