कैलालीमा चुनावको तयारी तीव्र
धनगढीः सरकारले मंसिर ४ गतेलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग चुनावी तयारीमा जुटेको छ। जसअन्तरगत जिल्ला निर्वाचन कार्यालय कैलाली पनि आफ्नो तयारीमा जुटेको छ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा आयोगले चुनावको तयारी स्वरुप मतदाता नामावलीको त्रुटि सच्याउनेदेखि दाबी विरोधमा छानविन गर्ने काम हुने जनाएको छ। यही भदौ १२ गतेदेखि सुरु हुने उक्त कार्य २० गतेसम्म सकिने जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ।
आयोगले सार्वजनिक गरेको तालिका अनुसार निर्वाचन तयारीका कार्याक्रमहरु स्थानीय तहमार्फत सञ्चालन हुने भएका छन्। कैलालीमा भदौ १२ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी आयोगको छ। प्रकाशित नामावलीमा त्रुटि सच्याउने काम १३ गते १५ गतेसम्म गर्ने कार्यक्रम तय भएको छ। आयोगका अनुसार सोही समयमा झुटो विवरण दिएर नामावलीमा नाम दर्ता गराउनेविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको छ। स्थानीय तहमार्फत नै सोही अवधिमा मतदाताको नाम एक भन्दाबढी केन्द्रमा समावेश भएको देखिएपछि सच्याउने कामसमेत हुने भएको छ।
यस्तै यही भदौ १३ गतेदेखि १६ गतेसम्म बसाइ सरेका, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउने काम गर्ने जनाइएको छ। जसका लागि बसाइसराइ कागज र मृत्यु भएकाको हकमा परिवारका सदस्यले मृत्यु दर्ताको प्रमाण पत्र ल्याउनुपर्ने भनिएको छ।
यस्तै सोही अवधिमा फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी आयोगमा पठाउने कार्यतालिका जिल्ला निर्वाचन कार्यालय कैलालीको छ।
कैलालीमा ५ लाख ३९ हजार ७ सय ५४ मतदाता रहेका छन्। स्थानीय तहको चुनावपछि १४ हजार ६ सय २९ मतदाता थपिएका हुन्। जिल्ला हालसम्म २ सय ३६ मतदानस्थल रहेका छन्। एक स्थल थप गर्नका लागि जिल्ला निर्वाचन कार्यालय कैलालीले आयोगमा सिफारिस गरेको जनाएको छ।