सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ‘गन्तव्य’ले डामाडोल पार्‍याे, रोमानिया पठाउने सपना देखाएर ठगी

२०७९ भदौ ७, ०७:४० रोशन भट्ट

धनगढीः कैलालीको धनगढीमा रहेको गन्तव्य एजुकेशन फाउण्डेशनले होटेल व्यवस्थापन पढाउँदै आएको छ। तर, गत वर्ष भने उसले केही व्यक्तिहरुलाई विदेश पठाउने भन्दै साढे पाँच लाखका दरले रकम संकलन गर्‍यो। 

गन्तव्य एजुकेशनले गत वर्षको साउनमा ६ जनाबाट ३३ लाख रकम संकलन गरेको थियो।  काम गर्नेगरी रोमानिया पठाउने भन्दै उनीहरुबाट साढे पाँच लाखका दरले रकम संकलन गरिएको थियो। तर, विदेश जाने भन्दै रकम बुझाएकाहरुले भिसा नै नक्कली आएको गुनासो गरेका छन्।

गन्तव्य एजुकेशनले नक्कली भिसा देखाएर आफुहरुलाई फसाउन खोजेको आरोप एक पीडित पुष्कर चुनाराको छ। ‘एक वर्ष भयो मलाई गन्तव्यले झेलाउन लागेको। विदेश उडाउँछु भन्यो। तर भिसा पनि फेक देखायो। अन्त्यमा भिसा रद्द भयो भन्छ’ पुष्करले दिनेशखबरसँग भने, ‘मेरो ग्रुपमा ६ जना साथी थियौं। प्रत्येकसँग साढे पाँच लाख मागिएको हो।’ 

गन्तव्य एजुकेशनले ६ जनालाई वर्किङ भिसामा रोमानिया पठाउने भन्दै रकम असुलेको थियो। शुल्क तिर्दा पनि विदेश जान नपाएपछि पीडित बनेकाहरु आत्तिएका छन्। फाउण्डेशनले दिएको भिसा नै नक्कली भएको आरोप लगाउँदै आएका उनीहरुले आफ्नो साढे पाँच लाख फिर्ता मागिरहेका छन्। 

एजुकेशनले उनीहरुलाई विदेश पठाउन नसकेपछि ब्याजसहित रकम फिर्ता गर्ने दाबी गरेको थियो। तर ६ जनाको एक वर्ष खेर फालेको एजुकेशनले सो रकम फिर्ता गर्न पनि आनाकानी गरिरहेको छ। ६ जनामध्ये केहीलाई २ लाख फिर्ता गरेको बताइएको छ। ब्याजसहित अझै तीन लाख ७१ हजार फिर्ता गर्न गन्तव्यले बेवास्ता गरेको चुनाराले बताए। ‘हामी दुई जना साथीलाई भदौ २ गतेको मिति राखेर तीन लाखको चेक दिएका थिए। त्यो साटिएन। यिनीहरु एजेण्ड हुन्। हामीलाई विदेश पनि पठाएन। हाम्रो लगानी फिर्ता गर्न आनाकानी गर्दै छन्,’ उनले भने। 

भदौ २ गतेकाे मिति हालेर दिइएको बैंकको चेक पनि अनादर भएपछि पीडितहरु झनै आक्रोसित भएका हुन्। गन्तव्य एजुकेशन फाउण्डेशनका सञ्चालकले आफूहरुलाई ठगेको आरोप पीडितको छ। मुकुन्द सिंह, सुरेश पन्त र लोकेन्द्र भण्डारीले सञ्चालन गरेको फाउण्डेशनले विदेश पठाउने भन्दै ठगी गरेको आरोप लागेको छ। 

यता फाउण्डेशनले भने मेनपावरले कमजोरी गरेको दाबी गर्दै आएको छ। तर कुन मेनपावरबाट विदेश पठाउने प्रक्रिया सुरु गरिएको थियो, त्यो भने खुलाइएको छैन। गन्तव्य एजुकेशन फाउण्डेशनका सञ्चालक मध्येका एक जना लोकेन्द्र भण्डारीले मेन पावरले नै रकम फिर्ता नगरेको बताए।

‘भिसा क्यान्सिल भएपछि मेन पावरले रकम फिर्ता गर्छु त भनेको थियो। त्यसपछि उसले चेक पनि दियो। उसले भनेको टाइम (समय) मा पैसा हालेन’ उनले भने, ‘तर हामीले खोजेर केटाहरुलाई दुई/दुई लाख दिएका छौं। बाँकी रहेको पैसा दिनका लागि चेक दिएका थियौं। पैसा खोज्दा एक/दुई दिन ढिला भएको हो। अब सबै पैसा दिन्छौ।’ 

लाखौं रकम बुझाएर पनि विदेश जान नपाएको र उल्टै ठगिएको भन्दै आक्रोसित भएका पीडितले मंगलबार फाण्उडेसनमा तोडफोड गरेको आरोप सञ्चालकको छ।

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस