कैलाली–४ मा गठबन्धनकै चार नेताको दाबी, एमालेबाट भट्टको चर्चा
धनगढीः आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै छ। चुनाव नजिकिएसँगै सुदूरपश्चिममा पनि उम्मेदवारको चर्चा सुरु हुन भएको छ। ५ ओटा संघीय निर्वाचन क्षेत्र रहेको कैलालीमा उम्मेदवारीको विषयमा बहस सुरु भएको हो।
केही ठुला नेताको गृह क्षेत्र मानिएको कैलाली–४ मा विभिन्न नेताहरुले आफ्नो दाबी प्रस्तुत गरेका छन्। विशेषगरी सत्ता गठबन्धनमा रहेका दलहरुले उम्मेदवार छनोटका लागि गृहकार्य सुरु गरेका हुन्।
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा दुई जना नेताको चर्चा छ। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका काँग्रेस नेता सुनिल भण्डारीले चुनाव लड्ने चर्चा कार्यकर्ता पंक्तिमा छ। सोही पार्टीबाट डाक्टर लक्ष्मीराज पाठक पनि चुनावी मैदानमा उत्रिने तयारीमा छन्। यता काँग्रेस कैलाली सचिव केशव मिश्रले अहिले नै उम्मेदवार टुङ्गो नलाग्ने बताए। ‘गएको निर्वाचनमा सुनिलकुमार भण्डारी लडेका हुन्। अब पनि त्यहीँ लेभलका नेताले टिकट पाउँछन्,’ उनले भने।
सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि कैलाली क्षेत्र नम्बर ४ नछाड्ने अडान राखेको छ। उक्त पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको चर्चा छ।
समाजवादीका प्रदेश प्रभावशाली नेताका रुपमा चिनिएका मन्त्री सोडारीले संघीय चुनाव लड्ने आन्तरिक तयारी गरिरहेको बुझिएको छ। उनका लागि पार्टीभित्रै लबिङ सुरु भएको बुझिएको छ। आधिकारिक रुपमा निर्णय नभएपनि पार्टी पंक्ति सोही तयारीमा जुटेको एकीकृत समाजवादी कैलालीका वरिष्ठ उपाध्यक्ष विमल जोशीले बताए। ‘दीर्घ सोडारी पार्टीका प्राभावशाली नेता पनि हुन। अहिले मन्त्री पनि छन्। उनको दाबी त हुन्छ नै,’ उनले भने।
कैलाली क्षेत्र नम्बर ४ मा नै चुनाव लड्न माओवादी केन्द्र पनि कस्सिएको छ। पार्टीका प्रदेश अध्यक्षसमेत रहेका हरि चौधरी ‘उत्सव’ ले उक्त क्षेत्रमा चुनाव लड्नेगरी माओवादी केन्द्रले तयारी गरेको हो। सत्ता गठबन्धले गरेको निर्णय स्वीकार गर्ने बताएको माओवादीले आफ्नो दाबी स्वभाविक रहने बताउँदै आएको छ।
एकै निर्वाचन क्षेत्रका लागि गठबन्धनकै ४ जना नेताको दाबी देखिएपछि तालमेल मिलाउन निकै सकस हुने चुनौति देखिएको छ। माओवादीका सुदूरपश्चिम अध्यक्ष चौधरीले प्रतिनिधि र प्रदेश सभामध्ये एक आफूहरुले पाउने बताए। ‘प्रतिनिधि सभामा जाने मेरो पनि तयारी छ। गठबन्धनले के निर्णय गर्छ हेरौं’ उनले भने।
क्षेत्र नम्बर ४ नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह नगरमा पर्छ। भट्टले २०७४ को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए। त्यतिबेला माओवादी केन्द्रमा रहेका भट्टले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा काँग्रेसका सुनिल भण्डारीलाई पराजित गरेका थिए।
अहिले सांसद पद नै गुमाएर एमालेका सचिव बनेका उनी कैलाली–४ बाटै चुनाव लड्ने चर्चा छ। आगामी मंसिरमा हुने चुनावमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले लेखराज भट्टको चर्चा हुनु स्वाभाविक भएको बताए। ‘०७४ निर्वाचन भट्टले जितेका कारण पनि चर्चा हुनु ठिकै हो,’ उनले भने, ‘पार्टी उम्मेदवारीको सवालमा छलफल गर्न जुटेको छ।’
कैलालीका तीनवटा स्थानीय तह गोदावरी, गौरीगंगा र चुरे गाउँपालिका क्षेत्र नम्बर ४ मा पर्छन्। गएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सो क्षेत्रमा गठबन्धन नै बलियो हुने देखिएको छ। स्थानीय निर्वाचनमा गोदावरीमा काँग्रेस, गौरीगंगामा माओवादी र चुरे गाउँपालिकाको अध्यक्षमा एमालेले जितेको छ। वडाबाट प्राप्त भएको मत हेर्ने हो भनेपनि एमाले भन्दा गठबन्धन ११ हजारले अगाडि छ। तर आम निर्वाचनमा क–कसको प्रतिस्पर्धा हुन्छ त्यो भने हेर्न बाँकी छ।