सीमा नाकामा पर्यटक सहायता कक्ष स्थापना गर्दै सुदूरपश्चिम सरकार
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले २०७५ फागुन ६ गते गौरीफन्टा सीमा नाकामा नागरिक सहायता कक्ष उद्घाटन गरे। सुदूरपश्चिमबाट भारत जानेहरुको तथ्याङ्क संकलन गर्ने भन्दै उद्घाटन गरिएको नागरिक सहायता कक्षबाट २०७६ साल वैशाख १ गतेबाट सेवा दिइने भनिएको थियो। तर १० बजेटमा निर्माण भएको नागरिक सहायता कक्ष सञ्चालन हुन सकेन।
नागरिक सहायता कक्ष सञ्चालनमा असफल देखिएको उही प्रदेश सरकारले अब पर्यटक सहायता कक्षा स्थापनाको योजना कार्यान्वयन गर्दैछ। कञ्चनपुरको गड्डाचौकीमा पर्यटक सहायता कक्षका लागि भवन निर्माणको काम थालिएको सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले बताए। उनका अनुसार १० लाखको लागतमा पर्यटक सहायता कक्ष स्थापना गरिने छ।
गड्डाचौकीसहित कैलालीको त्रिनगर तथा कर्णाली चिसापानीमा १०/१० लाखको लागतमा पर्यटक सहायता कक्षका लागि प्रदेश सरकारले प्रि–फ्याब भवन निर्माण गर्दैछ। सरकारले पर्यटकीय क्षेत्रको जानकारी, भारतीय पर्यटकको तथ्यांक संकलन, नीजि क्षेत्रको सेवाको जानकारीका लागि सहायता कक्षसँगै ‘डिस्प्ले बोर्ड’ समेत राख्दैछ।
स्थानीय तहसँगको सहकार्यमा कर्मचारी व्यवस्थापन गरिने प्रदेश सरकारले बताएको छ। पाठकले भने, ‘पर्यटक सूचना केन्द्र हामीसँग छ। तर सीमा क्षेत्रमा पर्यटक सहायता कक्ष छैन। सहायता कक्षमा नीजि कम्पनीका प्रचाहरु पनि हुन्छन्। राख्ने ठाउँहरु हामी बनाउछौ।’
उक्त कार्यमा स्थानीय तहको पनि सहकार्य हुने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘हामीले गोरो छालालाई मात्र पर्यटक मान्ने होइन। भारतीय पर्यटकलाई पनि स्वागत गरौ। उहाँहरुसँग पैसा छ। उहाँहरु गाडिमा आउनुहुन्छ। यतै बस्नु हुन्छ। उहाँहरुलाई स्वागत गरौ। पहुनाको व्यवहार गरौं।’