अछामका चार हजार घरमा प्रहरीको स्टिकर
अछामः गाउँमा भएको अपराध सहजै प्रहरीसँग पुुगोस भनेर इलाका प्रहरी कार्यालय कमलबजारले स्थानीयको घरमा प्रहरीको नम्बरयुक्त स्टिकर लगाउने कार्य सकेको छ। कमलबजार नगरपालिकाका ३ हजार ८९३ स्थानीयका घरदैलोमा प्रहरीले स्टिकर टाँस गरी गाउँघरको आपराधीक क्रियाकलाप, दैवि प्रकोप र शान्ति सुरक्षाको हरेक खबर प्रहरीलाई गर्न अनुरोध गरेको छ।
कमलबजार नगरपालिकाका १० वटै वडाका ३ हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरि सकिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुुख प्रहरी निरीक्षक विरेन्द्र जोहारीले बताए। ‘प्रहरी मेरो साथी भन्ने नारा छ तर गाउँका सूचनाहरु न्युन मात्रामा प्रहरीकोमा पुुग्छन। गाउँमा प्रहरी जाने वित्तिकै मानिसहरुमा किन आयो र कसलाई लैजान आयो भन्ने सोच छ। हामीले प्रहरी जनताको जीउधनको सुरक्षाका लागि जिम्मेवारी पाएको राष्ट्रसेवक हो भन्ने भावना जागृत गराउने प्रयास गरेका छौ’ प्रहरी निरिक्षक जोहारीले भने।
‘गाउँघरमा हुने अधिकांस घटना प्रहरीकोमा पुग्दैनन। मदिरा सेवन गरी हुने झैझगडा होस वा महिला हिंसा वा अरु कुनै कुटपिट। कतिपय जघन्य प्रकृतीका अपराधका घटना पनि प्रहरीकोमा नपुगेर गाउँमा दबाईन्छन, त्यो नहोस भने हामीले फोन नम्बर सहितको स्टिकर टाँस गरेका हौं, स्थानीय खुसी भएका छन’ प्रहरी निरिक्षक जोहारीले भने।
प्रहरी सेवामा केही नौलो गर्न रुचाउने उनले धनगढीमा ट्राफिक प्रहरीको कमाण्ड सम्हालेपछि उनले विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियमको जनचेतना फैलाउने काम गरेका थिए। उनले काठमाण्डौं उपत्यका बाहिर धनगढीमा पहिलो पटक ट्राफिक नियमको उलंघन गर्नेहरुलाई अनिवार्य रुपमा कक्षा लिनुपर्ने नियम लगाएका थिए। उनको कार्यकालमा ट्राफिक नियमको उलंघन गरेका करिब २ हजार जनालाई ट्राफिक नियमको चेतनामूलक कक्षा दिईएको थियो। कमलबजार प्रहरीले पुस १८ गतेदेखि स्थानीयको घर÷घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुरु गरेको थियो।