प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको विजयी सुरुवात
धनगढीः कैलालीको धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।
मंगलबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। गण्डकीले दिएको ५६ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले ९।५ मा ३ विकेटको क्षतिमा भेट्टाएको हो। सुदूरपश्चिमकी रेवती धामी २१ रनमा अविजित रहिन्।
यस्तै, शोभा रोकाया ४ रनमा अविजित रहँदा मनिषा बोहराले ९, कविता कुँवरले ८ र कप्तान विन्दु रावलले ६ रनको योगदान दिए। गण्डकी प्रदेशकी अपेक्षा बुढाथोकी र आकृति तिवारीले समान १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रनको योगफल तयार पारेको थियो। शीतलहर र हुस्सुका कारण २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो।
गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रनको योगदान दिए। यसैगरी, निरुता जीटीले ७ रन जोड्दा श्रीया शाहीले ३ र सलिना सेनले २ रन जोड्दा धन क्षेत्री र अपेक्षा बुढाथोकी समान १ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक ४ विकेट लिइन्। यस्तै, जानकी थापा र ऋतु कनौजियाले समान १र१ विकेट लिए। जितसँगै समूह ‘ए’ मा रहेको सुदूरपश्चिम प्रदेशले २ अंक जोडेको छ।