पर्यटन प्रवद्र्धनका लागि ठोरीमा १० करोड लगानी गरिने
वीरगञ्ज: मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि तत्काल १० करोड आर्थिक लगानी गर्ने निर्णय गरेको छ। पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको प्रदेश सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट विविध पर्यटकीय क्षेत्रको विकासका लागि १० करोड लगानी गर्ने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।
तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ। सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको छ।
पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा अपेक्षित विकास हुन सकेको छैन। मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ।