सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-पोखरा सिधा उडानले पर्यटन व्यवसायीमा उत्साह

२०७८ फाल्गुन १८, ०६:१० खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः बुद्ध एयरले हप्तामा तीन दिन धनगढी–पोखरा उडान सुरु गरेपछि सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ। बुधबारदेखि १८ सिटको बुद्धले धनगढी–पोखरा सीधा उडान सुरु गरेको हो। बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ। ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ।

नेपालको प्रमुख पर्यटकीयस्थल पोखरासँग सुदूरपश्चिमको सीधा उडानले आन्तरिक एवं वाह्य पर्यटक आगमनमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ।  पोखरासँग सुदूरपश्चिमको सीधा सम्पर्कले पर्यटन प्रवद्र्धनमा टुलो टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले बताए। ‘धनगढी–पोखरा सिधा हवाई उडान सेवाबाट निकै उत्साह थपको छ। यसैगरी अन्य सहरसँग पनि सम्बन्ध विस्तारमा तीनवटै सरकार सक्रिय हुनुपर्छ’ उनले भने। 

धनगढीबाट पोखरा मात्र होइन अन्य सहरमा पनि यसै गरी उडान गरेर सुदूरपश्चिमको सम्बन्ध जोड्नुपर्ने व्यवसायीको माग छ। पर्यटन व्यवसायसँगै सुदूरपश्चिमको विकासका लागि पनि प्रत्येक सहरसँग हवाई सम्बन्ध जोड्न प्रदेश सरकारले पहल गर्ने उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए। ‘धनगढी–पोखरा नियमित उडान सुदूरपश्चिमका लागि कोशेढुंगा सावित भएको छ, अन्य सहरसँग पनि यसैगरी सम्वन्ध विस्तार गर्न संघ र प्रदेश सरकाले भुमिका खेल्नेछ।’

विगतमा धनगढी–काठमाडौँ र धनगढीबाट सुदूर पहाडका जिल्लामा मात्र उडान हुँदै आएकोमा अब धनगढी–पोखरासँग पनि सीधा सम्बन्ध जोडिएपछि पोखरा आउने पर्यटक सुदूरपश्चिम आउनेमा पर्यटन व्यवसायी मात्र नभएर सुदूरपश्चिम प्रदेश सरकार समेत आशावादी छ। पोखरा घुम्न आउने आन्तरिक एवं पर्यटक अब सुदूरपश्चिमसम्म पुर्‍याउने काम धनगढी–पोखरा सीधा हवाई उडानले गर्ने अपेक्षा गरेको प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले बताए। ‘आज म निकै खुशी छु। सुदूरपश्चिमको सम्बन्ध पोखरासँग जोड्न पाएकोमा,’ उनले भने।

विमानस्थलमा नियमित उडानको संख्या बढेसँगै धनगढी विमानस्थलको वार्षिक आम्दानी समेत बढ्ने अपेक्षा कार्यालयले गरेको छ। वार्षिक एक करोडको हाराहारीमा विमानस्थल कार्यालयले आम्दानी गर्दै आएको हाल दैनिक धनगढी–काठमाण्डौँ र धनगढी पोखरा गरी ९ वटा उडानसँगै वार्षिक ३ करोड आम्दानी हुने कार्यालयले जनाएको छ। दैनिक १३ सयको हाराहारीमा धनगढी–काठमाण्डौँ र काठमाण्डौँ–धनगढी यात्रा गर्दै आएको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। ‘उडानसंख्यासँगै यात्रुहरुको चाप पनि बढ्दै गएपछि वार्षिक विमानस्थल कार्यालयको आम्दानी ३ करोड पुग्ने निश्चित छ।’

धनगढी–पोखरा सीधा उडानले सुदूरपश्चिमको पर्यटन व्यवसायीसँगै अर्थतन्त्र थप चलायमान हुने अपेक्षा यहाँका व्यवसायीको छ। 
 

कमेन्ट लोड गर्नुस