भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना, अछामका एक बालकको मृत्यु
धनगढी : भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरको बस भारतको लखिमपुर भिरा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका केशर थापा र रत्ना थापाका ४ महिनाका छोरा विष्णु थापाको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। त्यस्तै, अन्य पाँच जना घाइते भएका छन्। भारत गएका उक्त गाडीमा सवार १६ जना नेपाल फर्केका उनले बताए। दुर्घटनाको कारण भने नखुलेको बताइएको छ।