धनगढीमा हुलाकी सडक निर्माण कम्पनीले बालुवा–गिट्टीमा माटो मिसाएको आरोप
धनगढीः हुलाकी सडकको कैलाली खण्डमा आयोजना कार्यालय र निर्माण कम्पनीले चरम लापरबाही गरेको आरोप लागेको छ। कम्पनीले नाली निर्माण र सडक कालोपत्रे गर्ने काममा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेर झारो टार्ने काम गरेको आरोप लागेको हो। सडकमा गुणस्तरहिन सामग्री प्रयोग भइरहेको धनगढीका स्थानीय विनोद दहालले बताए। ‘बालुवा, गिट्टीमा माटो मिसावट गरेको प्रष्ट देखिन्छ। सडक बलियो हुने त कुरै भएन’ उनले भने।
करोडौंको लगानीमा निर्माण भइरहेको सडक टिकाउ नहुने भन्दै विरोध जनाएका स्थानीयले बालुवा र गिट्टीमा माटो परिमाण परीक्षण गर्नुपर्ने माग गरेका छन्। धनगढीका लगायतका नदी तथा खोलाहरुबाट मापदण्ड विपरीत उठाइएको बालुवा र गिट्टीको ल्याब परीक्षणसमेत नहुने गरेको आरोप लागेको छ। निर्माणकै क्रममा रहेका नालीसमेत विभिन्न ठाउँमा चर्केका कारण गुणस्तरहित निर्माण सामग्री प्रयोग हुने गरेको पुष्टि भएको धनगढी बुद्धचोकका स्थानीय रणबहादुर बोहराले बताए। ‘निर्माण कम्पनीले पैसा बचाउनका लागि यस्तो गरेको हो। बालुवालाई धुनुपर्छ तर यता भने पुरै बाटो मिसावट भएको छ’ उनले भने। विभिन्न खण्डमा निर्माण भइरहेको हुलाकी सडकका लागि खुटिया गोदावरी लगायतका नदीबाट बालुवा गिट्टी ल्याइने गरिएको छ।
यता हुलाकी सडक आयोजना कार्यालय सूचना अधिकारी पदम मडैले भने माटो परिक्षण हुने गरेको बताए। ‘खुटियाको बालुवामा माटो मिसावट भएको जस्तो देखिन्छ। त्यसकारण स्थानीयले आरोप लगाएका हुन्’ उनले भने। खुटिया नदीको बालुवामा माटो मिसावट भएको जस्तो देखिने गरेका कारण स्थानीयले विरोध गरेको हुनसक्ने दाबी गरिएको छ।
यस्तै निर्माण कम्पनी स्वछन्त जेभी जोशीका सञ्चालक गणेश जोशीले पनि स्थानीयको आरोप गलत भएको बताए। उनी भन्छन्, ‘बाटोमा राख्दा धुलो उडेर बसेको होला, हामीले मिसावट गरेको छैनौं।’