जेल कब्जा गरेर बन्दी रिहा
एजेन्सीः तालिवानले उत्तरी अफगानिस्तानको जज्जान प्रान्तस्थित जेल कब्जा गरेर सबै बन्दीहरुलाई रिहा गरेको जनाएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सयौं बन्दीहरु सेबर्घान शहरको जेलबाट निस्कदैं गरेको देखिन्छ। शनिबारै यस क्षेत्रमा तालिवानी लडाकुहरुले आक्रमण गरेका थिए।
तालिवानले यस शहर कब्जामा लिइसकेको छ। यसअघि उसले निमरोज प्रान्तको राजधानी जरान्ज कब्जामा लिएको थियो। देशभर तालिवान र अफगानी सेनाबीच लडाँइ चलिरहेको छ। सेबर्घान शहर अफगानिस्तानका पूर्व उपराष्ट्रपति तथा युद्ध सरदार अब्दुल रसिद दोस्तमको पकड रहेको क्षेत्र मानिन्छ, यहाँ रसिद दोस्तमका समर्थकहरुले पनि तालिवानविरुद्ध लडेका थिए।
स्थानीय मिडियाकाअनुसार १ सय ५० जना व्यक्तिहरु अफगानी सेनालाई सहयोग गर्न शहरमा पुगेका थिए। तिव्र लडाइँपछि शुक्रबार तालिवानले गर्भनरको कम्पाउन्ड कब्जामा लिएको थियो। त्यसपछि यहाँ फेरि अफगानी सुरक्षा बल फर्किएको थियो।
लामो समयसम्म चलेको युद्धपछि अहिले भने तालिवानले सैनिक अखडाबाहेक पुरै शहर कब्जामा लिइसकेको बीबीसीले जनाएको छ। सैनिक ब्यारेकमा अझै पनि युद्ध जारी छ। देशका अन्य इलाकामा पनि भिडन्त जारी छ। लडाँइमा तालिवान विजयी हुन थालेसँगै सर्वसाधारणहरु एकपछि अर्को गर्दै गाउँ छाडेर हिड्न थालेका छन्।
पश्चिमतर्फको हेरात, दक्षिणतर्फका कन्दहर र लस्कर गाह शहरमा पनि तालिवानी विद्रोहीहरुले आक्रमण बढाइरहेका छन्। अफगानिस्तानको काबुलमा तालिवानी लडाकुले राष्ट्रपति असरफ घानीका पूर्व प्रवक्ताको हत्या गरेका छन्। त्यसैगरी, कार्यकारी रक्षामन्त्रीको घरमा बम बिस्फोट गराएका छन्।