सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हृदयविदारक घटना: अबोध बालकको लखेटीलखेटी हत्या, अस्पतालको शैयामा आमाबुवा

२०७७ साउन १, ०४:२१ आशिष मल्ल

धनगढी: ७ वर्षीय हिमान्शुु महरा कक्षा १ मा अध्ययनरत थिए। आफ्ना आमा–बुवा र दुई बहिनीसँगै डडेल्धुराको आलिताल गाउँपालिका– ६ बाहुना गाउँमा बस्ने उनी अहिले यो संसारमा छैनन्। असार २६ मा उनी अस्ताए।

ती अवोध बालकको गाउँलेले लखेटी–लखेटी हत्या गरे। यतिमात्रै होइन ११ जनाको समूहले ढुंगा प्रहार गरी हिमान्सुलाई भीरबाट धकेले र उनको विभत्स हत्या भयो। छोरा गुमाएका गणेश र मिना कुमारी अहिले धनगढीस्थित सारथी अस्पतालको शैयामा भर्ना छन्। 


                                                                                     ०००

आलिताल गाउँपालिका वडा नम्बर ६ मा दुई गाउँ छन्। भौना गाउँ र मेलखाली गाउँ। दुवै गाउँबिच वर्षौदेखि खानेपानीको विवाद रहँदै आएको थियो। विवाद चरमोत्कर्षमा तब पुग्यो जब मेलखाली गाउँवासीले २०४१ सालदेखि बाहुना गाउँवासीले प्रयोग गर्दै आइरहेको खानेपानी आफ्नो गाउँ लग्न खोजे। त्यसपछि  १७ परिवार रहेका भौना गाउँवासीले त्यसको विरोध गरे। १४ घरधुरी रहेको मेलखाली गाउँवासीले षडयन्त्रपूर्वक खानेपानी आफ्नो गाउँ लग्न लागेको भौनाका गणेश महराले चाल पाए। उनी त्यसबारे जानकारी पाएर अचम्ममा परे। किनकी वडाबाट बजेट हालेर निर्माण हुन लागेको त्यो खानेपानी आयोजनाको उपभोक्ता समितिमा उनकै गाउँवासी हरिकृष्ण भाट थिए। 

‘वषौदेखि हामीले प्रयोग गरिरहेको खानेपानी लिफ्टिङ गरेर माथि रहेको मेलखालीमा लग्न लागेपछि विरोध गरेका थियौं,’ अस्पतालको शैयामा रहेका महराले भने, ‘मुल हाम्रो गाउँमा थियो, मेरै जमिनको माथि थियो।’ २६ गते साँझ सोही विवादलाई लिएर मेलखालीवासी लठ्ठी बोकेर आफ्नो घरमा झगडा गर्न आएको उनले बताए। ‘सुरुमा त मैलै तपाईको गाउँको घरघरमा ट्याङकी छ, खानेपानी प्रशस्त भएर वडा नम्बर ७ सम्म खानेपानी दिनुभएको छ भनेर सम्झाए,’ उनले भने, ‘साँझ साढे ६ बजे त्यहाँ आएका भीम खड्का, टिकाराम ओली, लाले खड्काले मेरो कुरा सुन्नुको सट्टा मेरो मुखमा लठ्ठी हिर्काए।’ 

उनका अनुसार त्यतिबेलासम्म मेलखालीवासीले घर घेरीसकेका थिए। त्यसपछि ‘महिलाहरु आउँदैछन् तेरो छाला निकाल्छु’ भनेर धम्की दिएपछि गणेश भागेका थिए। ‘महिलाहरु भएकाले हातपात गर्न उचित नठानेर म गुहार माग्दै घर तल रहेको भीरबाट कराएको थिए। पछाडीबाट १०/१२ जनाको समूहले लठ्ठी हानेर धकेलेपछि कान्लाबाट तल खसेको थिए।’ उनले सुनाए। 

घरपछाडीको भीरबाट धकेलिएका गणेश करिब २० मिटर तल खेसेका थिए। माथिबाट लगातार ढुंगा प्रहार भइरहेको हुँदा उनी रुखको आडमा लुकिरहे। माथि घर अगाडी भने गाउँलेले श्रीमती मीनाकुमारी महरालाई घेरेका थिए। ‘सुरुमा आएर तेरा बुढाले गाली गरे भन्दै ममाथि नै जाइ लागे। मैले वडा जाउँ प्रहरीमा जाउँ भनेर सम्झाउँदै थिए। उताबाट छोराले बुबालाई मार्यो भनेर कराएपछि म उतै गए,’ उनले भनीन, ‘मेरो पछिपछि छोरो पनि आएको थियो। श्रीमानलाई बचाउन गएकी मीनाकुमारीलाई पनि गाउँलेले ढुंगामुडा प्रहार गर्दै भीरबाट खसालेका थिए। छोरालाई पनि धकेलिएको थियो।’ 

गाउँले गइसकेपछि गणेश हत्तपत्त उठेर जाँदा उनको भाइकी श्रीमती छोरा हिमान्सुलाई बेहोस अवस्थामा समातेर रोडमा दगुरीरहेकी थिइन। घरमा उनकै गाउँका दुई महिला हातमा लठ्ठी बोकेर बसीरहेका थिए। ‘त्यसपछि बेहोस अवस्थामा रहेका छोरा बोकी म एक घण्टा हिडेर घरेलु गाडी पाउने बाटोमा पुगे र १० बजे धनगढीको सारथी अस्पतालमा पुगाए,’ दिनेश खबरलाई उनले भने, ‘राति अस्पतालका डाक्टरले काठमाडौं लग्नु भने तर आफ्नो आर्थिक स्थिति नाजुक भएकाले मैलै हिमान्शुलाई लग्न सकेन। २७ गते बिहान ४ बजे छोराले प्राण त्याग्यो।’

                                                                                      ०००

अहिले दुवै दम्पत्ति अस्पतालको शैयामा छन्। शरिरभरी लागेका चोटभन्दा छोरा गुमाएको चोटले बढी पोल्छ उनीहरुलाई। हिमान्शुको मृत शरीर लगेर गाउँ फर्किएका गणेशले शवलाई खाल्टोमा पुरेर अन्तिम संस्कार गरेका थिए। छोराको शोकमा डुबेका उनीहरुलाई आफ्नो चोटको ख्यालै थिएन। प्रहरीमा १२ जना विरुद्ध किटानी जाहेरी दिएर बुधबार मात्रै उनीहरु आफ्नो उपचार गराउन धनगढी आएका हुन। 

                                                                            ०००

घटनाको अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ। किटानी जाहेरीका आधारका ४ जनालाई हिरासतमा राखेर अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।  उनका अनुसार ३०  वर्षीय टिकाराम ओली, ५५ वर्षी निरु भन्ने निर बहादुर ओली, १९ वर्षीय भिम बहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाट प्रहरीको थुनामा छन्। अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस