दार्चुलामा सुख्खा पहिरोले जेसीबी महाकाली किनारमा खस्यो, चालक घाईते
दार्चुलाः दार्चुलाको महाकाली नगरपालिका–५ ठड्या भिरमा पहिरो खस्दा जेसीबी महाकाली किनारमा खसेको छ। सडक चौडा पार्ने क्रममा आज सुख्खा पहिरो खस्दा जेसीबी हुत्तिएर महाकाली किनारमा पुगेको हो। महाकाली लोकमार्ग अन्तर्गत ठड्याभिरमा सडक चौडा पार्ने काम भइरहेको छ।
उक्त सडक चौडा पार्ने काम चलिरहेकै बेला सडकमाथिबाट खसेको सुख्खा पहिरोले काम गरिरहेको जेसीबी चालकसहित महाकाली नदी किनारमा हुत्तिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। शुक्रवार बिहान सवा ५ बजेतिर पहिरो खसेको हो।
जेसीबीमा पहिरो खसेपछि जेसीबी चालक जाजरकोटको जुनीचाँदेका २६ बर्षीय रेशम बुढा घाइते भएका छन्। उनको खुट्टामा चोट रहेको छ। उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको प्रहरी निरीक्षक जोशीले बताए।
पहिरो कारण जेसबी हुत्तिएर करीब ३० मिटर तल महाकाली नदी किनारमा खसेको प्रहरी निरीक्षक जोशीले बताए। पहिरोका कारण अहिले उक्त क्षेत्रमा सडक अवरुद्ध रहेको छ। उक्त सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकामबाट बाहिरने र सदरमुकाम भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन्।