सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५ करोड रुपैयाँ खर्चेर निर्माण गरियो खानेपानी

फाइल फोटो
फाइल फोटो
२०८१ पुष २८, ०२:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का स्थानीयलाई सहज खानेपानी उपलब्ध गराउन ५ करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।

आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ। उपभोक्तालाई २४ सै घण्टा पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए। उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ।

८ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ। यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन्। आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ। समितिले धारा जडानका लागि दुई हजार शुल्क लिने गरेको छ।

पानीमो महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए। विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हँुदै आएको उनले बताए। वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ। जसमा एक हजार सात सय परिवार रहेका छन्। सबै घरपरिवारमा खानेपानी पुगाउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ। आयोजना निर्माणकार्य २०६७ सालदेखि थालिएको थियो।

कमेन्ट लोड गर्नुस