पुरुष यू–१९ एसिया कप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित
एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बङ्गलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो। बङ्गलादेशका जवाद अब्राररले ५९, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाए।
नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले १ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो। नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए।
यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए। बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले समान २ विकेट लिए। नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो। नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।