बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण
बैतडीः बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण गरिएको छ।
जिल्लाको पाटन नगरपालिकामा महिला सुरक्षित आवास गृह (सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ। गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन गरेको थियो। ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो।
सम्झौताअनुसार भवन निर्माणपछि नगरपालिकालाई हस्तान्तरण गरिएको निर्माण व्यवसायीय दिनेश लामिछानेले बताए। पाटनमा २०७३ साल भदौदेखि महिला सुरक्षित आवास गृह सञ्चालित छ। सेफ हाउस सञ्चालन भएको सात वर्षपछि आफ्नै भवन निर्माण बनेको सेफ हाउसका मनोविमर्शकर्ता डम्मरी भट्टले बताए। अहिले आफ्नै भवनबाट सेवा प्रवाश भइरहेको उनले जानकारी दिए।
पाटन नगरपालिकाको अगुवाइमा उक्त भवन निर्माण भएपछि चालु आर्थिक वर्षदेखि सेफ हाउस सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको हो। यसअघि सहस्त्रलिङ्ग सामुदायिक संस्थाले व्यवस्थापन गर्दै आएको थियो। सेफ हाउस सञ्चालनमा साथी नामक संस्थाले सहयोग गर्दै आइरहेको छ।
यहाँबाट अहिले हिंसा प्रभावित चार जना महिलाका साथै तीन बालबालिकाले सेवा लिइरहेका मनोविमर्शकर्ता भट्टले जानकारी दिए।