कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रियो १७ करोडको मकै
धनगढीः कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट १७ करोडको मकै आयात गरिएको छ।
चालु आर्थिक वर्षको ९ महिनामा ४५ लाख ८३ हजार किलो मकै आयात गरिएको हो। आयात गरिएको मकै दाना उद्योगमा खपत हुने गरेको छ। सुदूरपश्चिममा मकैको आयात प्रतिस्थापन गर्न मकैखेती विशेष कार्यक्रम सञ्चालन गरिएको छ। सो कार्यक्रम अन्तर्गत बसन्ते मकैखेती विस्तार भइरहेको छ।
कैलाली र कञ्चनपुरमा अभियानकै रुपमा सञ्चालन गरिन लागेको बसन्ते मकैखेतीका लागि सरकारले बीउमा अनुदान, सिँचाई, अन्य प्राविधिक सहयोग र बजारीकरणमा समेत सहयोग गर्ने सरकारी दाबी छ। मुख्यमन्त्री वृह्त तथा विशेष कार्यक्रममा समेटिएको बसन्ते मकैखेती पहिलो वर्ष कैलालीको गौरीगंगा, घोडीघोडा, कैलारी, जानकीनगर, लम्कीचुहा, टीकापुर र कञ्चनपुरको पुनर्वास, बेलडाडी बेलौरीलगायत क्षेत्रमा गरिएको छ।
कैलालीमा ६ सय हेक्टर र कञ्चनपुरमा ४ सय हेक्टर क्षेत्रफलमा कृषि ज्ञान केन्द्रमार्फत कार्यक्रम कार्यान्वयन भइरहेको छ। आगामी तीन वर्षभित्र थप क्षेत्रफलमा विस्तार गर्ने योजना समेत छ। हाल कैलाली र कञ्चनपुरमा रहेका दाना उद्योगका लागि आवश्यक पर्ने मकै लगायतका कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।