धनगढीमा पर्यटन बोर्डको कार्यालयले काम पाएन
धनगढीः धनगढीमा एक वर्षअघि नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरियो। तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बोर्डको उद्धघाटन गर्दै भनेका थिए ‘नेपाल पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि यो प्रदेशमा पर्यटन बोर्ड प्रदेश कार्यालय स्थापना गरिएको हो।
कहिल्यै बन्द नहुने गरी पर्यटन बोर्डको प्रदेश कार्यालय स्थापना भएको छ। आवश्यक कर्मचारी खटाउने र बोर्डका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने कार्य आफ्नो मन्त्रालयले गर्नेछ।’ धनगढीमा स्थापना गरिएको पर्यटन बोर्डको कार्यालय बन्द त भएको छैन तर बोर्डसँग पर्यटन सम्वन्धि कुनै कार्यक्रम नहुँदा नाम मात्रको कार्यालयको रुपमा रहेको छ।
प्रदेश स्तरको पर्यटन बोर्डको कार्यालय २०७८ पौष ५ गते स्थापना गरिएको थियो। तर पर्यटन बोर्ड स्थापना भए पनि बोर्डसँग अहिले कुनै कार्यक्रम छैन्। बोर्डका लागि एक जना प्रबन्धक र अधिकृतस्तरको कर्मचारी राखिएको भए पनि पर्यटन सम्वन्धि कुनै कार्यक्रम नहुँदा कार्यालयमा कार्यरत कर्मचारी समेत कामविहिन अवस्थामा छन्।
अहिले पर्यटन सम्वन्धि धनगढी कार्यालयसँग कुनै कार्यक्रम नभएको नेपाल पर्यटन बोर्ड धनगढीकी जानकी थापाले बताइन्। सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना हुनु यो प्रदेशको पर्यटन विकासका लागि ‘टर्निङ प्याइन्ट’ रुपमा लिइएको भए पनि कार्यालयसँग कुनै कार्यक्रम नै नभएपछि कार्यालयको औचित्य माथि नै प्रश्न उठ्न थालेको छ।
कार्यालय स्थापना भएयता यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकेको छैन्। सुदूरपश्चिम प्रदेशमा पर्यटन बोर्डको कार्यालय हुनु पर्ने भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीले पहिल्यैदेखि आवाज उठाउँदै आएका थिए। २२ वर्षपछि स्थापना भएको बोर्डसँग बजेट र कुनै कार्यक्रम नै नभएपछि पर्यटन व्यवसायी निराश भएका छन्।
बोर्डले पर्यटकीय गतिविधि सञ्चालन गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसार, सूचना प्रवाहसमेत गर्ने गरी कार्यालय स्थापना गरिएको थियो। तर काम हुन सकेको छैन्। पहिले केन्द्रबाट हुने सबै पर्यटन सम्वन्धिका कामहरु कार्यालय स्थापनापछि प्रदेशमै हुने अपेक्षा गरिएको भए पनि अहिलेसम्म त्यस्तो कुनै काम भएको छैन्।