मुक्तिनाथमा धनगढीका ज्येष्ठ नागरिकको टोली
धनगढीः धनगढीबाट गएको ज्येष्ठ नागरिकको टोली मुक्तिनाथ धाम पुगेको छ। धनगढी उपमहानगरपालिकाले तीर्थ यात्राका लागि एक सय बढी ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगेको हो।
उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय ४० जना ज्येष्ठ नागरिकलाई बिहीबार मुक्तिनाथ धाम धार्मिक तीर्थ भ्रमणमा लगेको जनाएको छ। उनीहरूलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरूले संयुक्त रूपमा तीर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाइ गरेका थिए।
सो टोली आज शनिबार मुक्तिनाथ पुगेको मुक्तिनाथ यात्राको व्यवस्थापन गरिरहेको लक्ष्मीनारायण मन्दिरका हरि प्रसाद न्यौपानेले बताए। यता नगर प्रमुख हमालले प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको बताउदै मुक्तिनाथ यात्राका लागि समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरूलाई भ्रमणमा समेटिएको बताए।
उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकाश प्राप्त गर्ने कर्मचारीहरू पनि भ्रमणमा गएका छन्। भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गरेको छ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ।