सुदूर नेपाललाई विश्वसँग जोड्दै

खगराज भट्टका अगाडि २ ‘अप्सन’, भन्छन् –प्रदेशमा जिते मुख्यमन्त्री हुन्छु 

२०७९ भदौ २, ०७:१२ रोशन भट्ट

धनगढीः अगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लागि उम्मेदवारहरुको चर्चा सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा पनि शिर्ष नेताहरुको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। 

गठबन्धनमा रहेका दलले नेता व्यवस्थापन गर्नुपर्ने हुँदा पनि तालमेल गर्न सकस हुने देखिएको छ। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टको उम्मेदवारीलाई पनि राजनीतिक वृत्तमा महत्त्वका साथ लिइएको छ। गृह जिल्ला डडेल्धुरा भएका भट्ट र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र एकै हो। 

तीन पटक देउवासँग पराजित भएका भट्ट फेरि चुनाव लड्ने तयारीमा छन्। तर, अहिले गठबन्धन भएका कारण राजनीतिक दललाई नेता व्यवस्थापन गर्ने चुनौती छ। प्रतिनिधि सभाको एकै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवाले चुनाव लड्ने चर्चा छ। त्यसकारण इन्चार्ज भट्टलाई व्यवस्थापन गर्नका लागि अन्य निर्वाचन क्षेत्र दिने चर्चा गठबन्धनमा सुरु भएको छ। 

माओवादी नेता भट्टले पनि प्रतिनिधि सभामा टिकट पाए कञ्चनपुरबाट लड्ने बताएका छन्। ‘मेरो चाहना डडेल्धुरा नछोड्ने हो। गठबन्धनले मलाई अर्को निर्वाचन क्षेत्र खोज भने मेरो रोजाईंमा कञ्चनपुर पर्छ। क्षेत्र नम्बर २ मा मेरो घर पनि छ। म त्यहिँबाट चुनाव लड्छु,’ उनले भने। तर कञ्चनपुर क्षेत्र नम्बर २ काँग्रेसका नेता एनपी साउदको गृह क्षेत्र हो। 

गठबन्धनले प्रदेश सभाको टिकट दिएपछि भने डडेल्धुराबाटै लड्ने भट्टको भनाई छ। प्रदेशमा लडे गृह जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट चुनावमा उत्रिने तयारी उनको छ। प्रदेशमा निर्वाचित भए मुख्यमन्त्रीमा दाबी रहने भट्टले बताए। ‘प्रदेशमा चुनाव लडेर जितेपछि मुख्यमन्त्रीमा दाबी हुन्छ,’ उनले भने, ‘पार्टीको प्रदेश शिर्ष नेता पनि हुँ। मुख्यमन्त्रीमा दाबी त हुन्छ नै। तरपनि गठबन्धन गर्दा सुदूरपश्चिम कुन पार्टीको भागमा पर्छ त्यसले तय गर्छ।’

अहिले गठबन्धनको सिट व्यवस्थान गर्नका लागि एक कार्यदलले गृहकार्य गरिरहेको छ। सबै पार्टीका नेताहरु व्यवस्थापन गर्न भने चुनौती देखिएको छ। 

खगराज भट्ट प्रधानमन्त्री देउवासँग तीन पटक ०६४, ०७० र ०७४ मा लगातार पराजित भएका थिए।  यसअघि ०६४ मा थोरै मतले पराजित भएका भट्ट त्यसपछिका चुनावमा भने फराकिलो मतान्तरले पराजित भए। ०७४ को चुनावमा देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत ल्याएका थिए।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस