विपिनको रिहाइको लागि कतारी विदेशराज्यमन्त्रीलाई गरियो फोन
काठमाण्डौंः परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छन्।
परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन्। मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन्। खुलाइफीसँगको कुराकानीमा राणाले हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छन्।
खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरूको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको कतारी विदेशराज्यमन्त्री खुलाइफीले बताए।
यसअघि परराष्ट्रमन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन्। इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ। गत हप्ता उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन्। यसअघि उनले गत हप्ता नै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन्।
राजदूत बासले मन्त्री राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराएका थिए। सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गर्दा प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए।