सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट सुदूरपश्चिम फर्कनेहरु कोरोना परीक्षण गर्नै मान्दैनन्

२०७९ साउन ३०, ०६:२२ रोशन भट्ट

धनगढीः त्रिनगर गौरीफन्टा नाकामा सोमबार विहान पनि सधैंजसो भारतबाट फर्कनेको लर्को थियो। सोही नाका भएर धनगढी ठेगाना बताउने एक परिवार स्वदेश आयो। श्रीमान/श्रीमतीसहित नेपाल फर्किन लागेको उक्त परिवारलाई नाकामा स्वास्थ्यकर्मीले कोरोना परीक्षण गर्न सुझाए। स्वास्थ्यकर्मीले नाकामै स्थापना गरिएको हेल्थ डेस्क अर्थात स्वास्थ्य सहायता कक्षमा गएर कोरोना परीक्षण गर्न सुझाए पनि त्यो परिवारले इन्कार ग¥यो। 

उनीहरुले आफूहरु केही दिन अगाडि मात्रै भारत गएको जिकिर गरेर परीक्षण गर्न अटेरी गरेपछि स्वास्थ्यकर्मी हैरान भएका थिए। स्वास्थ्य परीक्षण गर्न पटक–पटक आग्रह गर्दा पनि अटेरी गरेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए। ‘कतिपय व्यक्तिहरु जति सम्झाउँदा पनि मान्दैनन्,’ उनले भने, ‘परीक्षण गर्नुभन्दा अटेरी गर्नेकै कारण संक्रमण फैलिने खतरा छ।’

सुदूरपश्चिममा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ। सोमबार मात्रै त्रिनगर गौरीफन्टा नाकामा २ सय ६७ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण भेटिएको थियो। एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण फेला परेको हेल्थ डेस्कले जनाएको छ। 

अहिले भारतबाट आउनेमा संक्रमण देखिँदा पनि परीक्षण गर्न अटेरी हुन थालेपछि जोखिम बढेको छ। विगत जस्तै अहिले पनि यस्तै अटेरीका कारण समुदाय स्तरमा संक्रमण फैलिने खतरा उच्च छ। त्यसकारण पनि नाकामै परीक्षण गर्न आवश्यक छ। 

स्थानीय तह तथा प्रशासन लगायत अन्य संस्थाको समन्वयमा प्रदेशका विभिन्न नाकामा हेल्थ डेस्क सञ्चालनमा छन्। नाकामै कोरोना परीक्षण तथा खोप लगाउने काम डेस्कले गर्ने गरेको छ। एन्टिजेन पोजेटिभलाई पीसीआर परीक्षणका लागि पनि नमूना संकलन नाकामै हुने गरेका छ।  तर पनि भारतबाट फर्किने केही नेपालीहरुका कारण संक्रमण दर अझै उकालो लाग्ने जोखिम बढेको छ। त्यसकारण पनि नाकामै स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने देखिएको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नाकामा केही अटेरी भएपनि अझै व्यवस्थापन गर्ने बताए। ‘परीक्षण र खोपको दायरा बढाएका छांै। त्यसलाई व्यवस्थित गर्ने काम भइरहेको हुन्छ। यसमा सबैलाई सहयोग गर्न आग्रह पनि गर्छु,’ उनले भने। 

गौरा पर्व, दसैं-तिहार र खेतीपाती भित्र्याउन भदौ र असोजमा भारतमा रहेका अधिकांश नेपाली स्वदेश फर्केने गर्छन। तर सीमा नाकामा स्वास्थ्य परीक्षण नगरेरै घर जाँदा कोरोना संक्रमण ह्वात्तै बढ्नसक्ने भन्दै चिन्ता गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस