सुदूरपश्चिममा चुनावी गठबन्धनले महिला सहभागिता घट्ने आकलन
धनगढीः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचको सरगर्मी सुदूरपश्चिममा पनि बढ्दै गएको छ। विशेषगरी प्रदेशमा अहिले नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका पाँच दलहरु उम्मेदवार छनोटको प्रक्रियामा छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा चुनावी गठबन्धनमा व्यस्त देखिएका छन्। स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै छन्। सोहीकारण पनि गठबन्धका दलहरुलाई उम्मेदवार छनोट गर्न चुनौति देखिएको छ।
अहिले नेकपा एमाले लगायतका अन्य दलहरुलाई भने उम्मेदवार छनोट गर्न खासै समस्या छैन। तर पाँच दलको गठबन्धनलाई भने स्थानीय तहकै लागि उम्मेदवार छनाेटमा सकस देखिएको छ। गठबन्धन पूर्णरुपमा कार्यान्वयन भए स्थानीय तहको निर्वाचनमा महिला सहभागिता घट्ने देखिएको नेकपा माओवादी केन्दका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीले बताए। ‘यो प्रश्न स्वभाविक रुपमा हाम्रो अगाडि उठेको छ,’ उनले भने, ‘यसमा गठबन्धनमा जोडिएका दलहरुले पनि विषेश ध्यान दिनुपर्ने हुन्छ।’
राजनीतिक दलहरुमा स्थानीय तहको प्रमुख, उप–प्रमुख तथा वडाध्यक्षका आकांक्षी धरै भएका कारण पनि उम्मेदवार छनोटमा चुनौति देखिएको हो। महिलाको तुलनामा पुरुष दाबेदारको संख्या धेरै भएकाले मुख्य पदहरुमा महिलाको सहभागिता न्यून हुने देखिएको छ। तर गठबन्धनमा संलग्न दलहरु भने आवश्यक छलफल गरेर महिलालाई पनि प्राथमिकता राख्ने दाबी गर्दै आएका छन्। नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले यस विषयमा छलफल भइरहेको बताए। ‘महिलाको सहभागिता कम हुँदैन। योग्य महिलालाई उम्मेदवार बनाइन्छ’ उनले भने।
निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचनमा महिला सहभागितालाई अनिवार्य प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। एक पार्टीले एक उम्मेदवार उठाउनु परे महिलालाई सहभागी गराउन निर्वाचन आयोगले आग्रह गरेको छ। प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमराज भट्टले पनि महिलाको सहभागिता अनिवार्य गराउनुपर्ने बताए। उनी भन्छन्, ‘मुख्य पदमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान नै छ। राजनीतिक दलले पनि उक्त प्रावधानको पूर्ण कार्यान्वयन गर्नुपर्छ।’
महिला अधिकारकर्मीहरुले भने महिलाहरुलाई उप–प्रमुख र उपाध्यक्षमा मात्र सीमित पारिएको गुनासो गरेका छन्।