धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ३० प्रतिशत काम पूरा
धनगढी : कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ३० प्रतिशत काम पूरा भएको छ। धनगढी उपमहानगरपालिका–७ को पटेलास्थित राष्ट्रिय वन क्षेत्रको २२ हेक्टर क्षेत्रफलमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम भइरहेको छ।
क्षेत्रीय सहरी विकास आयोजनाले पटेला वन क्षेत्रमा २०७९ पौष १४ गते एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिसाजन्य पदार्थ प्रशोधन प्रणाली आयोजना निर्माणको ठेक्का गरेको थियो। धनगढीको फोहर व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गरिन लागेको हो। क्षेत्रीय सहरी विकास, धनगढीका इन्जिनियर झंक थापाले फोहोर मैला व्यवस्थापन केन्द्रको ३० प्रतिशत काम सकिएको बताए। उनले भने, ‘धनगढीको फोहोर मैला र दिशाजन्य फोहोरको संरचना निर्माण हुँदैछ। ३० प्रतिशत भौतिक प्रगति भएको छ।’
धनगढीको फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न निर्माण थालिएको केन्द्रको ३० प्रतिशत काम पूरा भएको हो। राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानीको आदेश नभएकाले ढिलो गरेर सुरु भएको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको झण्डै आधा काम भएको हो। फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा अस्थायी संरचना निर्माण गरेर काम हुँदैछ। कार्यालय भवनहरू, सुरक्षाकर्मीका लागि घरहरू, जेनेटर राख्न घर, भेकल, सार्वजनिक शौचालय, फोहोर मैला व्यवस्थापन केन्द्रको ६ वटा उपकरणहरू निर्माणको काम सकिएको हो।
धनगढी उपमहानगरपालिका–७ पटेलामा २२ हेक्टर क्षेत्रफल राष्ट्रिय वन क्षेत्र प्रयोग तथा उक्त क्षेत्रमा रहेका २६०३ रुख कटानीको आदेशपछि मात्र फोहोरमैला व्यवस्थापनको काम थालिएको थियो। क्षेत्रीय सहरी विकास आयोजना, धनगढीको ९६ करोड लागतमा फोहोरमैला व्यवस्थापन केन्द्रका संरचनाहरू निर्माण थालिएका हुन। फोहोरमैला व्यवस्थापन केन्द्रमा पर्खाल, कार्यालय भवन, गाड घर, जेनेटर घर, विद्युत् विस्तार, डिप बोरिङ्ग र अस्थायी संरचनाहरू निर्माण गरिएका हो।
केन्द्रमा फोहोरमैला र दिसाजन्य फोहरको व्यवस्थापन गरिनेछ। आयोजनाको काम पूरा भएपछि फोहर लग्ने, छुट्याउने र बेच्न मिल्लनेलाई विक्री गरिनेछ। कामै नलाग्नेलाई मात्र व्यवस्थापन गरिनेछ। दिसाजन्यका लागि च्याम्मरहरू समेत निर्माण गरिनेछ। दिसाजन्य फोहरलाई मलको रूपमा बिक्री गरिनेछ। फोहोर डम्प गर्ने नभएर कुहिने र नकुहिने फोहोर फरक फरक ठाउँमा राखिने छ। फोहरबाट मल र प्रशोधन गरिने छ। थापाले तोकिएको समयमा काम पूरा हुने बताएका छन्। उनले भने, ‘फोहोर मैला व्यवस्थापन केन्द्र आवश्यक हो। केन्द्रको काम पूरा भएपछि धनगढीको फोहोर सुरक्षीत रूपमा प्रशोधन र व्यवस्थापन गर्नेछौ। वातावरणीय अध्ययन गरेका छौ। वातावरणमा नराम्रो असर पर्दैन। फोहोर थुपार्ने होइन।’
केन्द्रले समुदाय तथा वातावरणलाई कुनै नराम्रो प्रभाव नपार्ने दाबी गरिएको छ। शौचालयबाट निस्किने फोहर र सहरको फोहरलाई फरक–फरक ठाउँबाट प्रशोधन गरिनेछ।