नेपाल र भारतको जस्तो मित्रता विश्वमा कहीँ छैनः मोदी
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताएका छन्। शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन्।
उनले पत्रकार सम्मेलनमा भने, 'भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन।' मोदीले सम्बोधनका क्रममा अगाडि भने, 'अनादिकालदेखि हामी एक अर्काका सुख दुःखका साथी रहेका छौँ।' यसअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर-कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी उद्घाटन गरेका थिए।