आगलागीपछि पुनःनिर्माण भएको धनगढीको फर्निचर उद्योगको २५ गते उद्घाटन
धनगढीः गत फागुन २२ गते आगलागीपछि ध्वस्त बनेको धनगढीको आलोक मल्टी कन्सर्न प्रालि पुनः निर्माण भइसकेको छ। झण्डै ८ करोड बढीको लगानीमा धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक नजिकै फर्निचर उद्योगको स्थापना गरिएको थियो। ४ जना लगानीकर्ताहरुले सो उद्योगमा लगानी गरेका थिए। भट्टसहित हिरा जोशी, पदमबहादुर भण्डारी र आरिप अहमद राइम उक्त उद्योगमा सञ्चालक रहेका थिए। फर्निचरका सामग्री सबै तयार भइसकेका थिए। उद्घाट गर्न मात्र ६ दिन मात्रै बाँकी थियो तर आगलागी भएर सबै खरानी भइदियो। सो आगलागीबाट ८ करोड बढीको लगानी क्षणभरमै ध्वस्त भएको भट्ट बताउँछन्।
‘केही सामग्रीहरु थप्न बाँकी थियो। उद्घाटनका लागि पनि सामग्री ल्याउन दिल्ली गएको थिए। नेट चलाउँदा सञ्चारमाध्यमबाटै थाहा पाए उद्योगमा आगलागी भयो भनेर’, उनी भन्छन्, ‘सोच्नै नसकिने घटना भयो। यत्रो मेहनत र लगानी सबै ध्वस्त भयो। के गर्ने के नगर्ने केही सोच्नै सकिएन्।’ त्यसपछि उनी तुरुन्तै दिल्लीबाट फर्किए। त्यहाँबाट आउँदा केही पनि बचेको थिएन। उद्योग पुरै जलेर खरानी भइसकेको थियो। तर त्यसपछि के गर्ने भन्नेबारे कुनै टुंगो नै नलागेको उनी बताउँछन्।
कसरी भएको थियो आगलागी ?
एउटै भवनमा उद्योगको कारखाना र शोरुम बनाइएको थियो। नियमित जस्तै २२ गते पनि उद्योगमा २५ जना जति कामदारहरु काम गरिरहेका थिए। त्यहिँ समयमा मल्लो तलाबाट आगोको सानो झिल्का जस्तै देखिएको बताइएको सञ्चालक भोजराज भट्टले बताए। तर त्यसपछि सोही झिल्कोले भयानक रुप लिएको उनी बताउँछन्। एउटै भवनमा शोरुम र उद्योग सँगसँगै हुँदा ठूलो घटना हुन पुगेको उनको अनुमान छ। ‘फागुन २८ गते उद्घाटन गर्ने मिति तोकेका थियौँ। तर २२ गतेको दिन सब स्वाहा’ भयो उनले भने। बिजुलीको तार सर्ट भएर नै आगलागी भएको हुनसक्ने उनको भनाई छ। ‘व्यवस्थित रुपमा काम गर्दागर्दे पनि उद्घाटन हुन ६ दिन अगाडी नै सोच्नै नसकिने घटना भयो’ उनले दुखेसो सुनाए।
पुननिर्माण पछि उद्घाटन हुँदै
आलोक फर्निचर उद्योग पुनः सञ्चालनमा आइरहेको छ। पुननिर्माणको काम सकिएको छ।हालसम्म पुर्ननिर्माणमा १० करोढ बढी खर्च भइसकेको सञ्चालक भट्टले बताए। अहिले सो उद्योगमा ७० जनाभन्दा बढी जनाले रोजगारी पाएका छन्। उनका अनुसार पहिलेको भन्दा पनि अब उद्योग र शोरुम थप ठूलो बनाइएको छ।
यहि मंसिर २५ गते उक्त उद्योगको उद्घाटन गर्ने उनले बताए। ‘हालसम्म सहयोग गर्ने सम्पूर्णपति आभार व्यक्त गर्दै सबैलाई उदुघाटन कार्यक्रमा निम्ता गरेका छौैं’ उनले भने, ‘अब सुदूरपश्चिमका सबै जिल्लाहरुलाई लक्षित गरेर सेवा दिने योजना छ।’