धनगढीमा ट्राफिक प्रहरी निरीह, ६ लेन सडकको पार्किङ हटाउन असफल
धनगढीः ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी ट्राफिक व्यवस्थापन हो। पैदल यात्रीसँगै सवारी साधनमा यात्रा गर्नेलाई दुर्घटनाको जोखिममुक्त गराउने वातावरण ट्राफिक प्रहरीले सिर्जना गर्नुपर्छ। सडक सुरक्षाकै लागि भनेर ट्राफिक प्रहरी विहानैदेखि फिल्डमा खटिएको पनि हुन्छ।
तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको ध्यान भने दुई पाङग्रे सवारीमाथि जरिमाना लगाएर राजश्व असुल्नतर्फ मात्रै केन्द्रीत भएको धनगढीका स्थानीय मदनराज जोशीले बताए।
‘नेताहरु आएको दिन मात्रै सडक खाली हुन्छ,’ उनले भने, ‘अरु समयमा ट्राफिक प्रहरी पनि कहाँ हुन्छ थाहा छैन।’ मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुने अव्यवस्थीत पार्किङ हटाउन ट्राफिक प्रहरी असफल भएपछि दैनिक दुर्घटना हुन थालेको अर्की स्थानीय गौरी भट्टले बताइन्। ‘हामी आन्दोलन गर्ने तयारीमा छौ,’ उनले भनिन्, ‘पार्किङ व्यवस्थापनमा सबै निकाय उदासिन छन्।’
अहिले धनगढीको ट्राफिक चौराहमा जुनसुकै समयमा जादा पनि दर्जन बढी सवारी साधन पार्किङ गरी राखिएका हुन्छन्। उक्त स्थामा जिल्ला प्रहरी र ट्राफिक प्रहरीको चौविसै घण्टा ड्युटी हुने भए पनि उनीहरु मुकदर्शक हुने गरेका छन्। साना सवारी साधन मोटरसाइकल चालकलाई अपराधी झै ठानेर पटकपटक चेक गरेर हैरानी दिने प्रहरी सवारी गुड्ने सडकमा हुने पार्किङ हटाउन असफल भएको छ।
अहिले विशेष गरी धनगढी चौराहदेखि गेटा सम्म ट्याङकर, बस, कार, वीङ्गर, म्याजिक लगायतका गाडीहरु पार्किङ गरी राखिएका हुन्छन्। जनस्तरबाट समेत यसको पटकपटक विरोध हुँदै आएको छ। यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले भने पार्किङ गर्ने ठाउँ नै नभएको दाबी गरे।
‘ट्याङ्करसँगै अन्य सवारीको लागि पनि ठाउँ छैन,’ उनले भने, ‘यसको व्यवस्थापन उपमहानगरपालिका गर्नुपर्छ।’ कैलालीमा ट्राफिक प्रहरी प्रमुख भएर बोहरा आएपछि ट्राफिक व्यवस्थापन झन फितलो देखिएको छ। ६ लेन सडकको चटकपुर खण्डमा त दुबैतर्फ ट्याङकर पार्किङ हुन थालेका छन्।
तर ट्राफिक प्रहरी भने पार्किङ व्यवस्थापनको जिम्मेबारी धनगढी उपमहानगरपालिकाको भएको बताउदै अव्यवस्थित पार्किङ हटाउन पन्छिरहेको छ। ट्राफिकले पार्किङ क्षेत्र अभावकै कारण समस्या हुँदै आएको दाबी गरेकोमा उपमहानगरपालिका उपयुक्त ठाउँ खोज्न उदासिन छ। तर उपमहानगरका प्रवक्ता सन्तोष मुडभरी भने यसको बारेमा आफूहरु लागिरहेको दाबी गर्छन्। ‘पार्किङको लागि अन्य ठाउँमा व्यवस्था गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘त्यसपछि यो समस्या समाधान हुन्छ।’
अव्यवस्थित पार्किङकै कारण सडकको निर्माण कार्य सुरु भएदेखि १४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं दुर्घटना भएका छन्।