कैलालीको गोदावरीमा लगाइएको ड्रागन फ्रुट १३ महिनामै फल्यो
धनगढीः कैलालीको गोदावरीमा लगाइएको ड्रागन फ्रुट १३ महिनामै फलेको छ। गोदावरी नगरपालिकाको वडा नम्बर २ तेखरीमा गोकर्णबहादुर ओलीले लगाएको ड्रागन फ्रुट फलेको हो। उनका अनुसार १८ महिनामा फल्ने ड्रागन फ्रुट १३ महिनामै फलेको छ।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले फलेको ड्रागन खेतीको अनुगमन गर्दै माटो, हावा, पानीका कारण उक्त फल चाँडै फलेको बताए। ‘उहाँले सुदूरपश्चिममा पहिलो पटक ड्रागनको खेती गर्ने योजना बनाउनुभयो। हामीले केही आर्थिक र प्राविधिक सहयोग गर्यौ। आज उहाँको ड्रागन फलेको छ। ६ महिनापछि यो फल अझै ठुलो हुन्छ।’
मोबाइलमै भिडिओबाट सिकेर ड्रागन खेती खेती गर्ने सोच बनाएको ओली बताउँछन्। प्रदेश सरकारले समेत सहयोग गरेको भन्दै उनले खुसी व्यक्त गरे। भने, ‘युट्युब र फेसबुकमा नेपालमै व्यवसायिक ड्रागन खेती सुरु गरेको देखेँ, अनि मैले पनि यहि खेती गरौं भन्ने सोच बनाए।’ उनले भारतबाट ड्रागन फ्रुटका बिरुवा ल्याएका हुन्।
कृषि विकास निर्देशनालयको ४ लाख ८१ हजार अनुदान र बाँकी आफ्नो गरेर ३५ लाखको लगानीमा उनले खेती सुरु गरेको हुन्। उनले डेढ बिघा अर्थात १ हेक्टर क्षेत्रफलको जमिन भाडामा लिएर लगाएनको ड्रागन अहिले फल्न थालेको छ। उनले भने, ‘ड्रागन फ्रुट फर्ममा १ जना प्राविधिकसहित ३ जनाले रोजगारी पाएका छन्।
दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्ने निर्देशक जोशीले बताए। ड्रागन फलको खेती गर्न त्यति गाह्रो नभएको जोशी बताउँछन्। तराईदेखि पहाडी क्षेत्रमा यो खेती गर्न सकिने उनले बताए।
समुद्री सतहदेखि करिब ३ सय मिटसम्मको उचाईमा ड्रागन फ्रुटको उत्पादन गर्न सकिन्छ। यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ।
सुदूरपश्चिममा नयाँ भएकाले बजारको समेत समस्या नहुने दाबी निर्देशक जोशीको छ। यो फल स्वादिष्ट र स्वास्थ्यवर्दक रहेको उनले बताए। यो फलले छाला, कोलस्ट्रोल, उच्च रक्तचाप, कब्जियत, क्यान्सर लगायतका रोग तथा समस्यालाई समेत निको पार्छ।
सम्बन्धित समाचार
युट्युब हेरेर ड्रागन फ्रुट खेती गरेका कैलालीका गोकर्ण, भन्छन्, ‘आफ्नै माटोमा सुन फलाउन सकिन्छ’