सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा विशेषज्ञ चिकित्सक अभाव

२०८१ माघ १६, १०:०१ नारायण अवस्थी

धनगढी: प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा स्वास्थ जनशक्तिको अभाव छ। प्रादेशिक स्तरीय एकमात्र आयुर्वेदिक अस्पतालमा केबल २७ जनाको दरबन्दी मात्रै स्वीकृत छ। चिकित्सालयले बिरामीलाई अन्तरङ्ग र बहिरङ्ग दुबै सेवा प्रदान गरिरहेको छ। तर जनशक्ति अभावले चिकित्सालयका सबै विभाग पूर्ण सञ्चालन हुन सकेका छैनन्। २०७९ असोजबाट सेवा सुरु गरेको चिकित्सालयबाट दुई वर्षमा करिब ८२ हजार बिरामीले उपचार सेवा लिएका छन्।

तर चिकित्सालय विशेषज्ञ चिकित्सक नहुँदा भौतिक पूर्वाधार हुँदाहुँदै सबै विभागहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न सकिएको छैन। सुदूरपश्चिम प्रदेश सरकारको एक मात्र प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा जम्मा २७ जनाको स्वीकृत दरबन्दी रहेको छ। चिकित्सालयमा विशेषज्ञ चिकित्सकको भने अभाव रहेको छ। २०७९ असोजबाट सेवा सुरु गरेको चिकित्सालयमा विज्ञ चिकित्सक नहुँदा उपचार सेवा विस्तार गर्न समस्या भएको चिकित्सालयका मेसु डाक्टर रामकामेश्वर ठाकुरले बताए। "हामीसँग पर्याप्त भौतिक संरचना छ। चिकित्सालयमा २७ जनाको दरबन्दी छ। विज्ञ चिकित्सकको अभावमा अस्पतालको सेवा प्रभावित भएको छ," मेसु ठाकुरले भने।

धनगढी-१३ राजपुरमा रहेको आयुर्वेदिक चिकित्सालयमा जनरल ओपिडी, बालरोग ओपिडी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति ओपिडी सञ्चालनमा छन्। चिकित्सालयमा ओपिडी र इन्डोर सेवा समेत सञ्चालन गरिएको छ। बिरामीहरूलाई पूर्वकर्म, पञ्चकर्म, गुदगद रोगको शल्यक्रिया सेवा, होमियोपेथी योग तथा परामर्श सेवा सञ्चालनमा रहेको मेसु ठाकुरले बताए। सुरुको वर्ष नि:शुल्क औषधी दिएको हुँदा २९ हजार ५३८ ले उपचार सेवा लिएका छन्। गत वर्षबाट स-शुल्क उपचार सेवा दिन थालेकाले २७ हजारले उपचार सेवा लिएका छन्।

चालु आर्थिक वर्षको ६ महिनामा २६ हजार ७ सयभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको मेसु ठाकुरले बताए। प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा पायल्स, फिसर फिस्टुलाको प्रभावकारी उपचार हुने गरेको छ। यो वर्ष साउनयता मात्रै ६२ जनाको सफल शल्यक्रिया गरिएको डाक्टर ठाकुरले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस