मंगलसेन दरबारको काम सकियो, भुक्तानी बाँकी
अछाम: अछामको मंगलसेन दरबारको काम सकिएको छ। सहरी विकास डोटीले ठेक्का सम्झौता गरेको १६ वर्षपछि दरबार पुनः निर्माणको काम सकिएको हो। २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो। मंगलसेन बजारको बीचमा रहेको दरबार पुनः निर्माणको काम सकिएको सहरी विकास डोटीले बताएको छ। तर, निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको छ।
मंगलसेनको गहनाको रूपमा रहेको दरबार ध्वस्त भएपछि बजार नै अधुरो र सुनसान देखिएको थियो। दरबारसँग अछामको पूरै इतिहास जोडिएको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए। उनले भने, ‘दरबारको काम सकिएको छ। तर, पर्खाल लगाएतको काम बाँकी छ। २ करोडको पर्खालको काम फेरि हुँदैछ। ऐतिहासिक दरबार हो। पुराना इतिहासका बस्तुहरू र जिल्लाका १० पालिकाका झल्काउने बस्तुहरू दरबारमा राख्ने मेरो सोच छ। तर, छलफल भएको छैन। ठेकेदारको पैसा पनि दिन बाँकी छ।’
पुरातत्त्व विभाग मातहतमा दरबार निर्माणको काम सहरी विकास डोटीले गरेको हो। तर, कसको स्वामित्वमा लैजाने भन्ने विषयमा विवाद रहेको छ। मंगलसेन नगरपालिकाका नगरप्रमुख बोहराले हस्तान्तरणको काम बाँकी रहेको बताए। ‘पहिले प्रशासन, प्रहरीलगायतका सबै सरकारी कार्यालय यसै दरबारभित्र थिए। अहिले सबै कार्यालयका छुट्टाछुट्टै भवनहरु छन्। नगर प्रमुख बोहराले भने, ‘दरबारलाई सङ्ग्रहालय बनाउने हो। पुराना इतिहास देखिने सबै चिज ध्वस्त भइसकेका छन्। पुराना चिजहरू खोज्नुपर्ने छ। जिल्लाका १० वटै पालिकाका एक÷एक कोठामा नाम राख्ने र पुराना चिजहरू राख्ने मेरो सोच छ। हाम्रो बिचमा छलफल भएको छैन।’
दरबार निर्माणको २०६७ मै निर्माण सम्पन्न गर्न राजेन्द्र, साउँद, तुल्छिदुर्गा, बडीमालिका र कुँवर गरी पाँच वटा निर्माण कम्पनीसँग २ करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो। सुरुमा मीनबहादुर कुँवरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लगेर बाहिरिएका थिए।
हाल निर्माणको जिम्मा राजेन्द्र र साउँद कन्ट्रक्सनले लिएको छ। पुरानै संरचना अनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक साल प्रजातिको काठ सजिलै उपलब्ध नहुने भएकाले दरबार निर्माणको काममा ढिला भएको निर्माण कम्पनीले बताउने गरेको छ। सहरी विकास डोटीका प्रमुख घनश्याम श्रेष्ठले दरबार निर्माणको काम सकिएको बताए। उनले भने, ‘दरबारको काम सकिएको छ। तर, काम गरेको भुक्तानी दिन बाँकी छ। चालु आर्थिक वर्षमा ५० लाख मात्र बजेट हो। काम गरेको बिलका आधारमा भुक्तानी दिने हो। अहिले बिल आएको छैन।’
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो। आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए। घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी एक सय २२ जनाको ज्यान गएको थियो।
अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरुभई उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ निर्माण सम्पन्न भएको हो। सरकारले २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको थियो।
योगेन्द्रबहादुरका भाई तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएका थिए। तीन तले दरबारमा ३० कोठाको छ।