धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै
धनगढीः कैलालीको धनगढीमा आज देखि प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।
नेपाल क्रिकेट संघ क्यानले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुनेछन। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन्।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन्। उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ भने पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ। प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशले विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको छ।
कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन्