महिला क्रिकेट टोलीको पहिलो जित
काठमाडौँ: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका भ्रमणको अभ्यास खेलमा पहिलो विजय हात पारेको छ। यसअघिको दुई अभ्यास खेलमा पराजित नेपालले मंगलबार तेस्रो अभ्यास खेलमा श्रीलंका महिला डेभलपमेन्ट टोलीमाथि २ रनको जित पाएको हो।
पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १२ रन बनाएको थियो। पूर्वकप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् । उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरिन् । ओपनरद्वय सम्झना खड्का १० र सीता रानामगर १५ रनमा आउट भइन्।
पूजा महतोले खाता खोल्न सकिनन्। विन्दु रावलले ३१ बलमा १ चौका प्रहार गरी २० र कप्तान इन्दु बर्माले १३ बलमा १ चौकासहित ११ रन बनाए। कविता जोशी ६ र डली भट्ट १ रनमा अविजित रहे। श्रीलंकाली टोलीबाट डी थेन्नाकोनेले २ तथा आर सेवान्डी, एस इदुवारी र पी मेथसाराले १–१ विकेट लिइन्।
जवाफमा श्रीलंकाली टोली १९.५ ओभरमा १ सय १० रनमा अलआउट भयो। भी बालासूर्याले ३८ र आर नेथरन्जलीले २६ रन बनाए। बालासूर्याले ३६ बलमा ३ चौका र २० बल खेलेकी नेथरन्जलीले १ छक्का प्रहार गरेका थिए। नेपालबाट कविता जोशीले ३ विकेट लिइन्। उनले २.५ ओभरमा १६ रन खर्चिन्। कृतिका मरासिनीले ३ ओभरमा १६ रन खर्चेर २ तथा कविता कुँवर र इन्दुले १–१ विकेट लिएका थिए।
श्रीलंकामा नै हुने एसिया कप महिला टी–२० प्रतियोगिताअघि नेपालले श्रीलंका महिला डेभलपमेन्ट टोलीसँग तीन अभ्यास खेल खेलेको हो। नेपालले जुलाई १९ मा यूएईविरुद्ध दम्बुलामा खेलेर एसिया कपको यात्रा सुरु गर्नेछ। समूह ‘ए’ मा रहेको नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ।