नेप्से परिसूचकमा चार महिनायताकै उच्च रकमको कारोबार
काठमाडौँः यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ। हिजो (आइतवार) नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ।
आज तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत पुस २७ गते यताकै उच्च हो। आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख ८० हजार हाराहारी पुगेको छ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५७, जीवन बीमा समूह शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६५ र अन्य समूहको उपसूचक शून्य दशमलव ५० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक चार दशमलव १८ प्रतिशतले बढेको छ।