सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोट फुटबलमा नेपाल र बहराइन भिड्ने

२०८० चैत्र ८, ०४:३५ खबर संवाददाता

काठमाडौँः फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ।

बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। दशरथ रङ्गशालाको मैदानमा खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताए। उनले नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टिम भएको टिप्पणी गरे। प्रशिक्षक एनेसले नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गरे।

नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले मलेसियाको टोलीसँग अभ्यास खेल खेलेको थियो। नेपालले पहिलो चरणको खेलमा लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो। समूह ‘एच’ मा  रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ। नेपालले संयुक्त अरब इमिरेट् विरुद्धको खेलमा ४–० गोलअन्तरले पराजित भएको थियो भने घरेलु मैदानमा भएको यमनविरुद्धको खेलमा २–० ले पराजित भएको थियो। नेपाल अङ्कविहीन छ।

समूह एचमा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन्। नेपाली फुटबल टोलीमा गोलकिपर किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार छन्। त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित) र सुमित श्रेष्ठ छन्। मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दीनेश हेन्जन, समीर तामाङ, सञ्जिव विष्टहिसुब थपलिया र जिलेस्पी जङ्ग कार्की छन्।
 

कमेन्ट लोड गर्नुस