धनगढीमा काँग्रेसको क्षेत्रीय सम्मेलन
धनगढी : धनगढीमा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ। नेपाली काँग्रेसको १४ औ महाधिवेशन पछिको दोस्रो प्रतिनिधि सभा क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन भएको हो।
नेपाली काँग्रेस क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपवहादुर ओड रहेका थिए। क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य ओडले नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू र पार्टीका नेता तथा कार्यकर्ताहरू एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए। उनले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका वडाहरूमा काँग्रेसबाट जितेका जनप्रतिनिधिहरूले गरेका कामहरूको प्रचार प्रसार गर्न सकेमा २०८४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले सहज जित हासिल गर्ने दावी गरे। केन्द्रीय सदस्य ओडले पार्टीमा गुटबन्दी नरहेको र पार्टी सभापति शेरवहादुर देउवा नै सबैको साझा रहेको बताए।
क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले गरेका सकारात्मक कामहरूलाई अनुसरण गर्दै त्यसको प्रचार प्रसार गर्नुपर्ने बताईन्। उनले राम्रा कामहरूका अनुसरण गर्दै जनमुखी कामहरूलाई प्राथमिकताका साथ सबै जनाले लैजानुपर्ने बताइन्।
क्षेत्रीय सम्मेलनलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य जीवन राना, सदस्य, प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, राष्ट्रिय सभा सदस्य तथा कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा, प्रदेश सभा सदस्य डम्मरी महरा लगायतले मन्तव्य राखेका थिए। उनीहरू सबैले नेपाली काँग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए।
क्षेत्रीय सम्मेलनमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालले काँग्रेसलाई सही बाटोमा डोराउन स्थानीय स्तरका नेताहरूका साथै माथिल्ला तहका र केन्द्रीय नेताहरूले पनि जिम्मेवारीपुर्वक भूमिका निर्वाह गर्न आग्रह गरे । उनले काग्रेंसका नेता कार्यकर्ताहरुलाई चलायमान बनाउन विभिन्न समयमा समुदायस्तरमा काँग्रेस जोडिने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। काँग्रेसको सय दिने अभियान सफल र सार्थक रुपमा सम्पन्न भएको उनको भनाई थियो।
क्षेत्रीय सम्मेलनमा नेपाली काँग्रेसका कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, उपमहानगरपालिकाका सभापति यज्ञराज उपाध्याय सहित प्रदेश सभा क र ख का सभापतिर क्षेत्र नम्बर ५ का २१ वटै वडा सभापतिलगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ स्थित कनरी पार्कमा झण्डै चार सय बढी नेता कार्यकर्ताहरूको उपस्थितिमासफलता पूर्वक सम्पन्न गरिएको क्षेत्रीय सम्मेलनमा सचिव विजय जोशीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन अर्का सचिव महेश गोलेले गरेका थिए।