नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द
त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको छ।
नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभर खेलेको अवस्थामा वर्षाले थप खेल हुन सकेन। सो स्थितिमा हङकङले २ विकेट गुमाई ६५ रन बनाएको थियो। करण केसीले खेलको पहिलो बलमै मार्टिन कोइट्जीलाई शून्यमा आउट गरेका थिए।
त्यसपछि कप्तान निजाकत खान र अंशुमन रथले दोस्रो विकेटमा ६१ रनको साझेदारी गरे। निजाकतले २० बल खेली ३ चौका र एक छक्का प्रहार गरि २५ रन बनाए। उनलाई गुलशन झाले आउट गरेका थिए। अंशुमन २४ बलमा ४ चौका र १ छक्का प्रहार गरि ३६ रन बनाई अविजित रहे। अर्का अविजित ब्याटर बाबर हायतले ३ रन बनाए।
नेपालले मंगलवार पपुवा न्यु गिनीविरुद्ध खेल्ने छ। नेपाल र पपुवा न्यु गिनी दुवैले जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्।