गौरीगंगा गोल्डकपः फारवेष्ट पशुपति विजयी
धनगढी: कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप२०८० मा फारवेष्ट पशुपति युवा क्लब विजयी भएको छ। गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लब अन्तिम आठमा पुगेको हो।
फारवेष्ट पशुपतिले डोटी जिल्ला खेलकुद विकास समितिलाई टाईब्रेकरमा ४–३ ले हराएको हो। खेलमा फारवेष्टका गोलरक्षक अमानत सेख खेलको म्यान अफ द म्याच भए। उनले नगद पाँच हजारसहित ट्रफी पाए। प्रतियोगिता अन्तर्गत भोली सुदुरपश्चिम ११ स्पोर्टस क्लब र फारवेष्ट स्पोर्टस कञ्चनपुरबीच खेल हुनेछ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ।