सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी

२०८० फाल्गुन २५, ०८:२४ खबर संवाददाता

मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन्।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ। जितसँगै सुदूरपश्चिम तीन खेलमा दुईमा जित र एकमा पराजित हुँदै चार अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा आठ विकेट गुमाई एक सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो।

सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा दुई छक्का र सात चौका प्रहार गरी ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले १२ बलमा छ छक्का प्रहार गरी ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए। जवाफमा एक सय ८४ रनको लक्ष्य पाएको पुलिसले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय ३१ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले दुई  विकेट र नारायण जोशीले एक विकेट लिए।

आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले  कर्णाली प्रदेशलाई आठ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ४० रनको योगफल तयार पारेको थियो। आर्मीका प्लेयर अफ द म्याच  वसिर अहमदले ३८ बलमा दुई छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाउदा सन्दीप रजालीले अविजित ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णलीका प्रकाश जैशीले दुई विकेट लिँदा दिनेश अधिकारी र दीपेन्द्र रावतले एक÷एक विकेट लिए।

एक सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा छ विकेट गुमाई एक सय ३२ रन मात्र जोड्न सक्यो। शनिवारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले बताए।
 

कमेन्ट लोड गर्नुस