खप्तड जहाँ आउँदैछन् योगगुरु बाबा रामदेव र प्रधानमन्त्री प्रचण्ड
धनगढीः सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ। खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते यस प्रकारको सम्मेलन आयोजना गर्न लागिएको हो।
आन्तरिक एवं बाह्य पर्यटकलाई बढुवा दिन यस्तो सम्मेलनको आयोजना गरिदैँछ। जहाँ योगगुरु बाबा रामदेब र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत आउने कार्यक्रम छ। प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी गराएका छन्।
तीनदिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भइसकेको छ। सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन्। यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ।
सो सम्मेलनको प्रधानमन्त्रीले उद्घाट गर्ने तय भएको छ। सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए। साथै सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी लगायत सहभागि हुने गरी तयारी अघि बढाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा यस्तो सम्मेलनको आयोजना गर्न लागिएको हो। सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा छ। खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायत दृष्टिले महत्वपूर्ण छ। अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलनदेखि खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने मुख्यमन्त्री शाहले बताए।
खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ। खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन। डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट एक दिनको पैदल यात्रपछि मात्र खप्तड पुगिन्छ।