सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा रैथानै अन्नको माग बढ्यो,उत्पादन घट्यो

२०७९ पुष २४, ०९:२३ नारायण अवस्थी

धनगढीः बझाङमा मार्सी, थापाचिनी, कोदो, फापर बेथे र कागुनोजस्ता रैथानै अन्नको माग बढेको छ। स्थानीय अर्गानिक अन्नको खपत बढे पनि उत्पादन भने घट्न थालेको छ। बझाङमा उत्पादित अन्नको माग जिल्ला बाहिरसमेत बढे पनि उत्पादनमा भने कमि आइरहेको हो।

तराईबाट आउने चामल किनेर खाने प्रवृत्ति बढ्दा र कामको खोजीमा युवा पलायन हुँदा स्थानीय उत्पादन बढ्न नसकेको बझाङ सदरमुकाम चैनपुरमा बझाङ कोसेली घर सञ्चालन गर्दै आएका गोरखबहादुर धामीले बताए।

'बझाङमा स्थानीय रैथाने अन्नको माघ बढेको छ। जिल्ला बाहिर पनि माग बाढेको छ, 'उनले भने, “माग बढे पनि जिल्लामा खेती घट्दा उत्पादन पनि घटेको छ। चामल किनेर खाने, दैनिक ज्यालादारीमा काम गर्दा राम्रो आम्दानी हुने देखेपछी खेतीपातीमा मेहनत गर्न छोड्दा उत्पादन बढाउन सकिएको छैन।'

हिमाली र मध्य मध्य पहाडी क्षेत्रमा अवस्थित सुदूरपश्चिमको बझाङ जिल्ला रैथाने कृषि बालीको उत्पादनका लागि परिचित छ। बझाङमा रैथाने धानमा हंसराज, बासमति ताराचुलो र मार्सीको उत्पादन हुने गर्छ। यस्तै, कोदो, फापर, जौ, जै, बेथे र कागुनोको पनि उत्पादन हुन्छ। स्थानीय राजमा, भाङो र भेरीको मह उत्पादनका हिसावले पनि बझाङ सुदूरपश्चिमकै अग्रणी जिल्ला हो। तर, युवा जनशक्तिको विदेश मोह, गाईवस्तु नपाल्ने प्रवृत्ति र तराईको चामल किनेर खाने लत लाग्दा बझाङमा रैथानै अन्न उत्पादनमा गिरावट आइरहेको छ।

बझाङ सदरमुकाम चैनपुरमा बझाङ कोसेली घर सञ्चालन गरेर स्थानीय उत्पादन बिक्री गर्दै आएका छविसपाथिभेरा–७ का गोरखबहादुर धामीले खेती गर्दा समय बढी र आम्दानी कम हुने देखेर दैनिक मजदुरी गर्न भारत जाने कारणले पनि खेतीपातीबाट राम्रो उब्जनी नभएको बताए।

'खेतीपातीमा बढी मेहनत र कम उब्जनी हुन्छ। मजदुरीमा हतोहात पैसा पाउने भएर पनि खेती कम हुन थालेको छ, 'उनले भने, 'गाईवस्तु पाल्न छोड्दा पनि मलको अभावले पनि खेती राम्रो नहुने भएको छ।'

मष्टा गाउँपालिका कोटदेवलका बसन्त खड्का र धामीले चैनपुरको बझाङ कोसेली घरबाट स्थानीय अन्न बिक्री गर्दै आएका छन्। गत मंसिर २२ देखि पुस ५ गतेसम्म धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सवमा करिव ६ लाख बराबरको रैथाने अन्न बिक्री गरेका खड्का र धामीले जिल्लामा रैथाने अन्नको खेती घटेको बताएका छन्। खेती हुने जग्गा भए पनि चौपाया पाल्न छोड्दा मलको अभावले अन्न उत्पादन घट्दो छ। यस्तै युवाहरूले गाउँ छोड्दा खेतमा काम गर्ने मान्छे नहुँदा पनि स्वास्थ्यका लागि हितकारी अन्न उत्पादनमा गिरावट आएको खड्काको भनाइ छ।

'रैथाने अन्नको खपत बढेको छ। तर उत्पादन भने घटी रहेको छ,' उनले भने, 'उत्पादन बढाउन सके बझाङदेखि धनगढी, नेपालगञ्ज काठमाडौं सबै ठाउँमा बिक्री गर्न निकै सजिलो छ।'

बझाङको रैथाने अन्नको बजारमा माग बढेको तर उत्पादन घट्न लागेकाले कृषि ज्ञान केन्द्र बझाङले स्थानीय बालीको खेती प्रवर्द्धन, अन्नको ब्राण्डिङ र बजारीकरणमा प्रदेश कृषि नीतिको अधिनमा रहेर काम भइरहेको जनाएको छ। बझाङ  जिल्ला रैथाने अन्नका लागि निकै महत्त्वपूर्ण जिल्ला भएकाले उत्पादन बढाउने, बजारीकरण गर्ने र उपभोग बढाउने सरकारी प्रयास भइरहेको  कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए।

'बझाङ जिल्ला रैथाने अन्न उत्पादनका दृष्टिकोणले निकै महत्त्वपूर्ण छ,'उनले भने, 'कृषि ज्ञान केन्द्रले प्रदेश कृषि नीति र कार्यक्रमको अधिनमा रहेको स्थानीय उत्पादनको उत्पादन, ब्राण्डिङ र बजारीकरणका लागि समुदायसँग मिलेर काम गरिरहेका छौँ।'

कृषि ज्ञान केन्द्र बझाङले स्थानीय अन्नको उत्पादन, ब्राण्डिङ र बजारीकरणमा किसानहरूलाई सहयोग गर्दै आएको छ। रैथाने अन्नको प्याकेजिङ र ढुवानी कृषि ज्ञान केन्द्र बझाङले अनुदान दिने गरेको छ। बझाङको आलु, चामल, कोदो, भाङो फापर र बेथेलगायत अन्य रैथाने अन्नको उत्पादन बढाउन सके बजारको समस्या नहुने बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस