सेती अस्पतालमा किन आउन मान्दैनन् डाक्टर ?
धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालले असार १० गते चिकित्सक आवश्यक रहेको भन्दै विज्ञापन खोल्यो। विशिष्टीकृत सेवा विस्तार गर्नका लागि आवश्यक पर्ने डाक्टरको मागसहित सेतीले विज्ञापन खोलेको थियो। तर, अस्पताल प्रशासनले १५ दिनभित्र दरखास्त दिन आह्वान गरेर खोलेको विज्ञापनमा आवेदन नै परेन।
अस्पतालले न्यूरो सर्जन, युरो सर्जन, नेफ्रोलोजिष्ट, नियोनेटोलोजिष्ट, इण्डोक्राइनोलोजिष्ट, फिजिसियन, सर्जन, ग्याष्टोइन्टेरोलोजिष्ट, गाइनोकोलोजिष्ट, पेडियाट्रीसियन, रेडीयोलोजिष्ट, साइक्याष्ट्रिक, एनेस्थेसियोलोजिष्ट, मेडिकल जनरललिष्ट, मेडिकल अधिकृत माग गरेको थियो। तर, तीमध्ये केही पदमा मात्रै आवेदन परेको छ।
विषेशगरी विशिष्टीकृत सेवा विस्तारका लागि आवश्यक पर्ने विभिन्न ८ पदमा एक जनाको पनि आवेदन नपरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए। ‘विशिष्टीकृत सेवा विस्तारका लागि विज्ञापन गरिएको हो। हामीले मागेका अधिकांश पदमा दरखास्त गरेको छैन,’ उनले भने। अस्पतालले अन्य पदका लागि पनि विज्ञापन खोलेको थियो। तर अन्य पदमा पनि अपेक्षाकृत रुपमा आवेदन परेको छैन। यसले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालप्रति बिरामीको मात्रै होइन चिकित्सकको पनि मोह घट्दै गएको प्रष्ट हुन्छ।
प्रदेशको राजधानीमै सञ्चालित अस्पतालले डाक्टर नै नपाउनु समग्र स्वास्थ्य क्षेत्रकै लागि घाटाको विषय मानिएको छ। चिकित्सकहरुको सरकारी अस्पतालप्रति आकर्षण नहुको कारण तलब सुविधा नै रहेको स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक लक्ष्मिराज पाठक बताउँछन्। ‘सरकारी अस्पताल भन्दा निजीले बढी तलब दिने गरेका छन्। डाक्टरहरु पनि निजीमा नै बढी काम गर्न खोज्छन्। निजीमा नपाएकाहरु मात्रै सरकारीमा जाने गरेका छन्,’ उनले भने।
विशेषगरी सरकारी अस्पतालभन्दा निजी अस्पतालले चिकित्सकलाई तुलनात्मक रुपमा तलब तथा सेवासुविधा बढी दिने गरेको छ। सोहीकारण पनि यस्तो अवस्था सिर्जना भएको दाबी गरिएको छ। सरकारी अस्पतालले चिकित्सकहरुलाई तलबसँगै प्रोत्साहन भत्ता लगायत अतिरिक्त सुविधा दिनुपर्ने माग गरिएको छ।
सुदूरपश्चिमका सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरु निजी क्लिनिकमा पनि काम गर्दै आएका छन्। सरकारी अस्पतालमा काम गर्नेलाई निजीमा काम गर्न भने कुनै रोकावट छैन। तर पनि सरकारी अस्पतालप्रतिको मोह घटेको विषयमा गम्भीर रुपमा सोच्न आवश्यक रहेको सरोकारवाला बताउँछन्।