सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक कलोपत्रेको काम गुणस्तरहीन, उपमहानगर मौन

२०७९ असार २७, ०७:२४ रोशन भट्ट

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ मा दुई किलोमिटर सडक कालोपत्रेको काम जारी छ। २ करोडभन्दा बढी बजेटमा उपमहानगरपालिकाले वडा नम्बर ११ को थापापुरदेखि द्रुतमार्ग जोड्ने सडक कालोपत्रेकोको ठेक्का गरेकोमा काम जारी रहेको हो। २१ सय मिटर लामो सडक निर्माण भइरहेको भएपनि त्यहाँ कमसल सामग्रीको प्रयोग भएको स्थानीयको आरोप छ।

विशेषगरी सडक किनारमा निर्माण गरिएको वालमा प्रयोग भएको ईट्टा कमसल भएको आरोप उनीहरुको छ। कमसल इट्टाकै कारण उक्त वाल भत्किने चरणमा पुगेको छ। अधिकांश स्थानमा उक्त वाल लच्किएको स्थानीयवासी धनबहादुर चौधरीले बताए। ‘कालोपत्रेको काम गुणस्तरहीन भइरहेको छ। वाल भत्किन थालेको छ। इट्टा पनि कमसल प्रयोग भइरहेको छ’ उनले भने।

धनगढी उपमहानगरपालिकाले उक्त सडक निर्माणको जिम्मा स्वार–अञ्जु जेभीलाई दिएको छ। ठेक्कामार्फत उक्त जेभीलाई सडक निर्माणको जिम्मेवारी दिइएको हो। अहिले उक्त २१ सय मिटर सडक खण्डमा कालोपत्रेको काम पनि सुरु भइसकेको छ। तर, कालोपत्रे गरिएको केही भागमा भने सडक उप्किन थालेको छ। सडक निर्माणको सुरुवाती चरणमै निर्माण कम्पनीको कमजोरी देखिएको बताइएको छ।

विगतमा कल्भर्ट भएको ठाउँमा अहिले ह्यूमपाइप राखेका कारण पनि सडक कमजोर हुने अर्का स्थानीयवासी यसोदादेवी धानुकले बताइन्। ‘खै कसको कमजोरी हो थाहा छैन। तर यो सडक निर्माण भइरहेको हेर्दा सबै हैरान छन्। यसरी बनाएको सडक कति टिक्ला र खै ?’ उनले प्रश्न गरिन्।

गुणस्तरहीन सडक निर्माण भएको स्थानीयले गुनासो गरेपनि उपमहानगरपालिका भने मौन छ। निर्माण कम्पनीले सडक निर्माणमा लापरबाही गर्दै आएको भएपनि उपमहानगरपालिका बेखबर जस्तै बनेको हो। अहिले सडक निर्माणको प्रकति हेर्दा पनि वर्षाको पानी कालोपत्रे सडक भन्दामाथि आउने देखिएको छ। त्यसकारण उक्त सडक टिकाउ नहुने भन्दै स्थानीयले सम्बन्धित निकायलाई गुहारेका हुन्। यता उपमहानगरपालिकाका इन्जिनियर दाताराम जोशीले भने उक्त सडकबारे गुनासो आफूकहाँ पनि आएको बताए। ‘मेयर सापको टिमसहित भोली अनुगमन हुन्छ त्यो सडकको,’ उनले भने, ‘केही कमजोरी भेटिएमा पुनः काम गर्न लगाइन्छ।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस