सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अझै पुगेन पाठ्यपुस्तक

२०७९ असार २, ०६:५१ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा शैक्षिक सत्र सुरु भएको एक महिना पूरा भएको छ। तर  पाठ्यपुस्तकको अभाव कायमै छ। हहेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव देखिएको छ। जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभाव पुरा भएको छैन। 

शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भएर नियमित पठनपाठन पनि सुरु भइसकेको छ। तर पुस्तक उपलब्ध नहुँदा विद्यार्थीलाई समस्या भएको धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका प्राचार्य हरिशकुमार ओझाले बताए।  ‘शिक्षकहरूले पाठ्यक्रम डाउनलोड गरेर पढाउने गरेका छन्,’ उनले भने, सामुदायिक विद्यालयले पूराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए। केही कक्षाका पुस्तकहरु परिवर्तन भएका छन्।’

सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको थियो। तर असार पहिलो साता सुरु हुँदा पनि प्रदेशलाई आवश्यक पर्ने साढे ३ लाख बढी सेट पुस्तक अझै उपलब्ध भएको छैन। 

यस वर्ष २२ लाख बढी पुस्तक वितरण गर्नुपर्ने जिम्मेवारी जनक शिक्षा सामग्रीसँग थियो। तर, तराइका दुई जिल्ला कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लामा पुस्तक पुगेको छैन। केन्द्र बाट नआएका कारण प्रदेशमा वितरण गर्न नसकिएको बताइएको छ। 

विगतका वर्षहरुमा कतिपय विद्यालयका विद्यार्थीले शैक्षिक सत्र सकिँदा पनि पुस्तक नपाएको गुनासो थियो। यस वर्षपनि सोही अवस्था सिर्जना हुने आशंका गरिएको छ। तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिमका निर्देशक ध्रुवराज पन्तले असारको १५ गतेसम्म पुस्तक वितरण गरिसक्ने दाबी गरेका छन्। ‘माथिबाट आएपछि असार १५ गतेसम्म पुस्तक वितरणको काम सकिन्छ। माथिबाटै आएन भने समय लाग्ने हो’ उनले भने। 

जनक शिक्षा सामग्रीले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा केही ढिलाइ भएको दाबी गरेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस